एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
मधेश प्रदेश सभा सचिवालयद्वारा आयोजित चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ। लोकतन्त्र, संसदीय प्रक्रिया, नीति निर्माण तथा नेतृत्व विकासबारे युवालाई व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रदेशका ११ विद्यालयका ५० जना विद्यार्थी सहभागी भएका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव ले युवाहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी त्यसको प्राप्तिका लागि निरन्तर प्रयास गर्न आग्रह गरे। उनले सफलता हासिल गर्न लक्ष्य, योजनाबद्ध कार्य र नियमित अभ्यास आवश्यक हुने बताए।
सभामुख यादवले सकारात्मक सोच, अनुशासन र समर्पणका साथ अघि बढ्न तथा गलत संगतबाट टाढा रहन युवालाई सुझाव दिए। लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सक्षम, जिम्मेवार र सचेत युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।

उपसभामुख बबिता कुमारी राउत इशर ले यस्ता अभ्यास कार्यक्रमले युवामा नेतृत्व क्षमता, तार्किक सोच, बहस गर्ने शैली तथा निर्णय प्रक्रियामा सहभागी हुने सीप विकास गर्ने बताइन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्न युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
श्रम तथा यातायात मन्त्री शारदा देवी थापा ले युवालाई शैक्षिक ज्ञानमा मात्र सीमित नरही सामाजिक र राजनीतिक चेतनासँग पनि जोडिन आग्रह गरिन्। यस्ता कार्यक्रमले युवालाई नेतृत्वका लागि तयार पार्नुका साथै जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उनले बताइन्।
महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा यादव ले लोकतान्त्रिक संस्थाहरूको प्रभावकारी सञ्चालनका लागि युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। नीति निर्माण तथा सार्वजनिक सरोकारका विषयमा युवाले आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन्।

प्रदेश सभा सचिवालयका अनुसार संसदीय प्रणाली, विधेयक निर्माण प्रक्रिया, छलफल, बहस तथा निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद, मन्त्री तथा सभामुखको भूमिका निर्वाह गर्दै संसदीय अभ्यास गरेका थिए।
चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमले सहभागी युवाहरूमा वक्तृत्वकला, नेतृत्व क्षमता, नीति विश्लेषण क्षमता तथा लोकतान्त्रिक अभ्यासप्रतिको बुझाइ अभिवृद्धि भएको आयोजकले जनाएको छ।