एसपी खवर
जनकपुरधाम, जेठ १० : जनकपुरधाम स्थित रौनियार सेवा समितिको युवा मञ्च रौनियार युवा मञ्चले कुल तीन दर्जन एसइइ उत्तीर्ण छात्रछात्राहरूलाई पुरस्कृत गरेको छ। सेवा समितिको सभा हलमा आयोजित भव्य समारोहका बीच उच्च अदालत जनकपुरधामका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरको प्रमुख आतिथ्यतामा रौनियार स्वजातिका १६ र जनकपुरधामको विरासत चर्चित पुराना सामुदायिक विद्यालयका ३३ गरी कुल ३६ जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको छ ।

यस अघि युवा मञ्चले स्वजातिभित्रका उत्तीर्ण विद्यार्थीलाई मात्र पुरस्कृत गर्ने गर्दथ्यो। कलेज ब्याग आधा दर्जन कपी एक प्याकेट कलम एउटा क्यालकुलेटर र पानी थर्मस साहित्यक शैक्षिक सामग्री पुरस्कारको रुपमा र प्रशंसापत्र प्रदान गरिएको छ । उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले जनकपुरधामलाई पुनर्जागरण गर्नु आवश्यक रहेको बताउनु भएको छ । मुख्यन्यायाधिश कुँवरले जनकपुरधाम कुनै समय शिक्षाको केन्द्र थियो, यसलाई फेरी पुनर्जागरण गर्न तर्फ हामी सबैले लाग्नुपर्ने बताउनु भयो ।

उहाँले जनकपुरधामको शैक्षिक स्तरमा दिनानुदिन ह्रास आइरहेकाले रौनियार युवा मञ्चले एसइइमा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताउनु भयो । आजको युवा पुस्ता नै भोली विभिन्न क्षेत्रमा आफ्नो लक्ष्य हाशिल गर्ने भएकाले युवाहरुमा लगानी गर्न तर्फ हामी सबै लाग्नु पर्ने स्पष्ट पार्नु भयो । त्यसपछि मात्रै जनकपुरधामले आफ्नो पुरानो वैभवलाई फर्काउन सक्ने उहाँको भनाई थियो ।
रौनियार युवा मञ्चका अध्यक्ष राकेश गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधामा ४का वडाध्यक्ष सुरेश झा, रौनियार सेवा समितिका प्रमुख संरक्षक शिवनाथ गुप्ता, याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपका प्रधानाध्यापक संजय झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन रौनियार सहितको उपस्थिति रहेको थियो ।






