एसपी खवर
जनकपुरधाम, जेठ १० :
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले जनकपुरधाममा निर्वाचन समिक्षा सम्पन्न गरेको छ । निर्वाचनको क्रममा भएका असल अभ्यासका साथै देखिएका समस्याहरु लगायतको विषयमा प्रदेश तहमा समिक्षा गर्नकालागि जनकपुरधाममा कार्यक्रमको आयोजना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले निर्वाचनको क्रममा देखिएका असल अभ्यास र सच्याउनु पर्ने रणनीतिक लगायतको विषयमा आफूहरुले सुझाव संकलन गरेको जानकारी दिनुभयो । उहाँले संकलन गरिएका सुझावहरुका आधारमा आगामी निर्वाचनहरुलाई अझै स्वच्छ र भयरहित बनाउनकालागि कार्यान्वयनमा लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी निर्वाचन भयरहित र स्वच्छ बनाउनकालागि निर्वाचन आयोगले आचारसंहिता पालन तथा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तर जारी राख्ने बताउनु भयो । समुहगत छलफल गरि अगामि सुुधारका लागि सुझाव संकलन समेत गरिएको कार्यक्रममा जनसंख्याको आधार र जनघन्त्वको आधारमा मतदान केन्द्र स्थापना देखि निर्वाचनकै लागि पत्रकार, मानवअधिकार कर्मी र परिवेक्षक पनि खटने भएको हुनाले उनीहरुलाई बिना लाईन मतदानको सहज व्यस्थापन गर्न सहितका दर्जनौं सुझावहरु चारवटा समुहबाट संकलन गरिएको छ ।

कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली, आठ वटै जिल्लाका निर्वाचन अधिकृत, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिहिरु सहितको उपस्थिति रहेको थियो ।