एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जानकी नवमी पर्वलाई राष्ट्रिय स्तरमा मान्यता दिँदै सार्वजनिक विदा घोषणा गर्न रामानन्दीय वैष्णव संघले सरकारसँग औपचारिक माग गरेको छ।
संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी केवल धार्मिक आस्थाको विषय मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दू श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको भन्दै यस्तो ऐतिहासिक धरोहरलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए।
उनका अनुसार जानकी नवमीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने भएकाले यस पर्वलाई राष्ट्रिय मान्यता दिन आवश्यक छ। “जनकपुरधाम एउटा सहर मात्र होइन, यो हाम्रो सभ्यता र संस्कृति हो,” उनले भने।
अध्यक्ष दासले जानकी नवमीको दिन देशभर सार्वजनिक विदा घोषणा गरिएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, स्थानीय अर्थतन्त्र मजबुत हुने र सांस्कृतिक संरक्षणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले सरकारले दशैं, तिहार र बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्दै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु उचित नहुने धारणा राखे। “माता जानकी नेपाली पहिचानको अभिन्न अंग हुन्, उनको जन्मोत्सवलाई राज्यले औपचारिक मान्यता दिनु हाम्रो इतिहासप्रतिको सम्मान हो,” उनले थपे।
संघले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै यस विषयमा शीघ्र निर्णय लिन आग्रह गरेको छ। साथै, देशभरका धार्मिक संघसंस्था, बुद्धिजीवी र सर्वसाधारणलाई अभियानमा साथ दिन आह्वान गरिएको छ।
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने जानकी नवमीमा हजारौं श्रद्धालुहरूको सहभागिता रहने गर्दछ। पर्वका अवसरमा विशेष पूजा, झाँकी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न धार्मिक अनुष्ठानहरू आयोजना गरिने गरिन्छ, जसले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।





