एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ।
गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

अभियानका क्रममा स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो।
गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण केवल धार्मिक आस्था मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रदेश सरकार कठोर रूपमा प्रस्तुत हुने र आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने स्पष्ट पार्नुभयो।

स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए। पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्थाविनै संरचना हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।