एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको भन्दै नेकपा (एमाले) धनुषाले कडा विरोध जनाएको छ।
एमाले धनुषाले राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगका आधारमा गरिएको यस्तो कार्यले लोकतन्त्र, विधिको शासन तथा संविधानप्रदत्त मौलिक हक–अधिकारमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

ओलीको तत्काल रिहाइको माग गर्दै एमाले धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषामा विरोधपत्र बुझाएको छ। विरोधपत्रमार्फत गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने तथा भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग राखिएको छ।

विरोधपत्रमा राजनीतिक असहमति वा फरक विचारका आधारमा राज्य संयन्त्रको दुरुपयोग अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै, कुनै पनि नेतामाथि गरिने कारबाही कानुनी प्रक्रिया, पारदर्शिता र निष्पक्षताको आधारमा हुनुपर्नेमा जोड दिइएको छ।
यसअघि पनि एमाले धनुषाले ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गर्दै नाराबाजी गरेको थियो।






