जनकपुरधाम, चैत ५ :
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट हासिल गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको छ।
चुनावी नतिजापछि थापाले राजीनामाको तयारी गरेका थिए। यद्यपि पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए। उनले दिएको राजीनामाबारे अन्तिम निर्णय लिन केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।





