एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : 
धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ। मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाएको छ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना भएको छ।
प्राप्त जानकारीअनुसार मुकेश र विभाले करिब पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए। सुरुमा सामान्य रहेको वैवाहिक सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको माइती पक्षको दाबी छ।
मृतकका दाजु मनिषकुमार महतोले बहिनीमाथि लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिइँदै आएको आरोप लगाएका छन्। उनका अनुसार सन्तान नभएको विषयलाई लिएर विभामाथि पटक–पटक दुर्व्यवहार हुँदै आएको थियो। विभाको शरीरमा चोटका दाग (नीलडाम) समेत देखिएको दाबी गर्दै उनले घटनाप्रति गम्भीर शंका व्यक्त गरेका छन्।
माइती पक्षले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, मृतकका दाजु मनिषकुमार महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा विभाका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा प्रहरीले मुकेशलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता सार्वजनिक हुने उनले बताएका छन्।