एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
भारतीय सीमासँग जोडिएको महोत्तरीको मटिहानी नगरपालिका–८ मा प्रहरी चौकीको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ।
बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख हरीप्रसाद मण्डल, महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी संजयकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्मा तथा वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरूले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्।
नगरप्रमुख मण्डलका अनुसार नगरस्तरीय तथा वडास्तरीय संयुक्त योजनाअन्तर्गत करिब ३२ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। उनले मटिहानीमा यसअघि भाडाको घरमा प्रहरी चौकी सञ्चालन हुँदै आएको उल्लेख गर्दै नयाँ भवन निर्माणसँगै सेवा प्रवाहमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरे।

प्रहरी उपरीक्षक शर्माले जिल्लाका अन्य प्रहरी चौकीहरू अझै जिर्ण अवस्थामा रहेको उल्लेख गर्दै मटिहानीमा निर्माण भएको सुविधा सम्पन्न भवन अन्य स्थानीय तहका लागि उदाहरणीय बन्ने बताए। भारतीय सीमासँग जोडिएको क्षेत्रमा आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा शान्ति सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने उनको भनाइ थियो।

नवनिर्मित भवनमा हल, थुनुवा कक्ष, चौकी प्रमुख कक्ष, सहायक चौकी प्रमुख कक्ष, स्टोर रूम तथा अन्य कार्यालय कक्षहरू समावेश छन्। भवन सञ्चालनमा आएसँगै स्थानीय स्तरमा शान्ति सुरक्षा व्यवस्थापन अझ सुदृढ हुने तथा सेवाग्राहीले सहज र व्यवस्थित सेवा पाउने अपेक्षा गरिएको छ।





