एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
मधेस प्रदेशको राजधानी जनकपुरधाममा सडक किनारमा फैलिएका फुटपाथ अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइएको छ। गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा विभिन्न स्थानमा माइकिङ गर्दै फुटपाथ खाली गराउने कार्य सुरु गरिएको हो। मन्त्री महतो स्वयं सडकमा उत्रिएर सर्वसाधारणलाई सचेत गराउँदै फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिरहेका छन्।

उनले फुटपाथमा व्यापार गरिरहेका व्यवसायीलाई रंगभूमी मैदानमा सर्न आग्रह गर्दै त्यहाँ व्यवस्थित रूपमा पसल सञ्चालन गर्न सकिने जानकारी दिएका छन्।
अभियानमा स्थानीय प्रशासन, जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघलगायत निकायहरूको सक्रिय सहभागिता रहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार बजार क्षेत्र, मुख्य सडक र चोकहरूमा पुगेर माइकिङमार्फत तत्काल फुटपाथ खाली गर्न अनुरोध गरिएको छ।

स्थानीय प्रशासनका अनुसार फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै पैदल यात्रु जोखिममा परिरहेका थिए। यसले दुर्घटनाको सम्भावना बढाउनुका साथै शहरको सौन्दर्यमा समेत नकारात्मक असर परेको जनाइएको छ।
यद्यपि, फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्थामा थप स्पष्टता र सुविधा उपलब्ध गराउन माग गरेका छन्।





