एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी धनुषा जिल्लामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्लाको महेन्द्रनगरमा तैनाथ नेपाली सेनाको श्री विष्णुदल गणले आफ्नो सुरक्षा गस्तीलाई थप तीव्र र विस्तार गरेको छ।
विगतदेखि नै पैदल, मोटरसाइकल र सवारी मार्फत नियमित गस्ती गर्दै आएको उक्त गणले हाल सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बख्तरबन्द सवारीको प्रयोग सुरु गरेको छ। विशेषगरी जिल्लाका अति संवेदनशील र संवेदनशील क्षेत्रहरूमा बख्तरबन्द सवारीसहितको गस्ती परिचालन गरिएको छ। सेनाको यो सक्रियताले स्थानीय जनतामा सुरक्षाको ठूलो भरोसा जगाएको छ।
सेनाको टोलीले धनुषाका मुख्य बजारदेखि ग्रामीण भेगसम्म निरन्तर गस्ती गरिरहेको छ। नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पनि सहकार्यमा सुरक्षा गस्तीलाई अगाडि बढाएका छन् । नेपाली सेनाको प्रतिबद्धता र निरन्तर प्रयासले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न र सम्भावित उच्छृगंल गतिविधि रोक्न मद्दत पुग्ने आम नागरिकको विश्वास छ।
जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्त्वपूर्ण जिम्मेवारी पाएको उक्त गणले स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन कुनै कसर बाकी नराख्ने र प्राप्त जिम्मेवारी कटिबद्ध भई इमानदारीका साथ पूरा गर्ने श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी खिलेन्द्र राज आमगाईंले बताउनु भयो ।





