एसपी रिपोर्टर

जनकपुरधाम, फागुन १३ः नेपाली कांग्रेसभित्र आफ्नो भूगोल तराई मधेशको हितमा निरन्तर लडेका गान्धीवादी नेता भनेर समेत चिनिने स्व. महेन्द्र नारायण निधीको १०५ औं जन्मजयन्ती मनाइएको छ।

नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा एक विशेष समारोहको आयोजना गरी कांग्रेसका संस्थापक मध्येका एक तथा तराई मधेशका लागि कांग्रेससँग पनि लडेका स्व. निधीको स्मरण गर्दै उनको योगदानको चर्चा परिचर्चा गरेको छ।

कार्यक्रममा नेताहरु विमलेन्द्र निधी, राम सरोज यादवसहितकाले स्व. निधीलाई स्मरण गर्दै लोकतन्त्रका लागि कांग्रेस र उहाँको योगदानको चर्चा गरेका छन्। सो अवसरमा धनुषा ३ बाट उम्मेदवार रहेका नेता विमलेन्द्र निधीले पशुपति विकास कोष जस्तै जनकपुरधामको धार्मिक विकास पनि गरिने बताए।

समितिबाट बृहत जनकपुरधाम क्षेत्र विकास परिषद बनेको प्रसंग उल्लेख गर्दै जनकपुरधाम र यस क्षेत्रको विकासका लागि सरकारको प्रतिनिधित्व गराउन स्थापित परिषद र त्यसमा स्व. निधीको भूमिकाको प्रशंसा गरेका छन्।

आसन्न फागुन २१ गतेको निर्वाचनमा स्व. निधिका सुपुत्र कांग्रेसका पुर्व उपसभापति तथा पुर्व नेविसंघ अध्यक्ष समेत रहिसकेका नेता विमलेन्द्र निधी पुनः उम्म्ेदवार छन् । यस क्षेत्र र मधेशका प्रभावशाली नेता उनी यस पटक प्रत्यक्ष तर्फ प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दिएर चुनावी तयारीमा होमिएका छन् । उनको प्रचार प्रसारका लागि पार्टी र नेता कार्यक्रताहरु सक्रियता पुर्वक लागेका छन् ।