एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : नेपाली कांग्रेसका पूर्व उपसभापति तथा नेता विमलेन्द्र निधिले नेपालका प्रथम गणतान्त्रिक शहिद दुर्गानन्द झाको परिकल्पना गणतन्त्रमाथि कुनै पनि हिसाबले खतरा आउन नदिनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

शहिद झाको सहादत दिवसको अवसरमा धनुषा निर्वाचन क्षेत्र नं. ३ स्थित शहिद झाको शालिकहरुमा माल्यार्पण गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका पूर्व उपप्रधान तथा गृहमन्त्री निधिले शहिदहरुको बलिदानीले बिपनामा सार्थक भएको उहाँहरुको सपना संघीय लोकतान्त्रिक गणतन्त्रलाई मास्ने काम रोक्नु पर्ने बताए ।
वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीले आफ्नो जीवनकालमै जनकपुरधामको वडा नं. २३ बेला स्थित सिक्सलेन सोनासती मन्दिर छेउमा निर्माण गर्न लगाएका शहिद झाको पूर्ण कदको शालिक र जटही स्थित शहिद दुर्गानन्द झा प्रवेशद्वारा माथिको शालिकमा समेत माल्यार्पण गरेका निधि सो कार्यक्रमहरुमा सहभागिता जनाउँदै शहिद झाको स्मरण र चर्चा गरेका हुन् ।
जौनापुर २३ मा भएको श्रद्धाञ्जली अर्पण तथा योग साधना शिविर कार्यक्रमको अगुवाई स्व. नेपालीका सुपुत्र, पूर्व पत्रकार तथा हाल वडा अध्यक्ष समेत रहेका राघवेन्द्र साहले गरेका थिए।
जटहीमा आयोजित श्रद्धाञ्जलीसभामा कांग्रेसका नेता प्रदेशसभा सदस्य रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पजियार, नेता स्मृती नारायण चौधरी, जनकपुरधामका प्रमुख मनोज कुमार साह सहित पालिका प्रमुखहरु वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी राम भरत साह सहितको उपस्थिती थियो ।






