एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ८ : अत्याधिक भिडभाड हुने जनकपुरधामको विवाहपञ्चमी महोत्सवमा नेपाली सेना जनता माझ पुग्ने प्रयत्न गरेको छ । भीडभाडका साथ विवाह पञ्चमीको स्वयंवर मनाइने मुख्य स्थल एतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा शिविर बनाएर निशुल्क उपचार थालेका सेना जनता संग अपनत्व हुने अन्य गतिविधी पनि संगै थालेका छन् ।
https://www.facebook.com/reel/1351134236487993
हरेक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवमा स्वयंवर बेला बाजागाजा सहित एक समुहमा देखिने नेपाली सेना यस वर्ष प्रत्यक्ष जनता र दर्शनार्थीहरु संग जुडने कार्यक्रमको आयोजना गरेको हो । बाह्रबिघा रंगभूमि मैदानको केहि क्षेत्रमा राम्रो शिविर स्थापना गरि नेपाली सेनाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको स्वास्थ्य उपचार मात्र नभई सेनामा भर्ना हुने विधी प्रक्रिया र मापदण्डहरु समेतको जानकारीका लागि डेस्क राखिएको छ ।

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज समुदघाटन गरेको शिविर तिन दिन सम्म चल्ने जसमा रक्तदान, सर्पदंश र त्यसबाट जोगिने उपाय, मधेशमा भयावह रहेको आँखाको मोतिया बिन्दुको शल्यक्रिया देखि सेनाको बारेमा परिचय दिने स्टल पनि राखिएको छ । प्रदेश प्रमुख लाभले सेनाको कामको प्रशंसा गरेका छन् ।
नेपाली सेना मध्यपृतना बर्दिवासका पृतनापत्ति कृष्ण बहादुर जिसीले हजारौं संख्यामा जनशक्ति परिचालन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जानकी मेडिकल कलेज सहित चौतर्फी सहयोगले शिविर व्यवस्थापन भइरहेको बताए ।

नेपालीको सेना बर्दिवास स्थित मध्य पुर्वी पृतनाको अगुवाई र महोत्तरी, धनुषा तथा सिरहा स्थित विभिन्न गणहरू समेतको सक्रियतामा भएको शिविरमा नेपाली सेना र राष्ट्रिय सेवा दलका युवाहरु गरि हजारौं लाई खटाइएको छ । व्यवस्थित शिविरमा भारतको विभिन्न क्षेत्रबाट आएकाहरुको उपचार गराउने लाईनमा भिडभाड देखिन्छ ।
विवाह पञ्चमीमा दर्शनार्थी र आगन्तुक को भिडले अस्तव्यस्त रहने बाह्रबिघा रंगभूमि मैदानलाई नेपाली सेना र वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद मिलेर यसपालि व्यवस्थित बनाउन खोजेको छ । वृहतरले दर्शनार्थीहरूलाई बस्ने र खाने बन्दोबस्त गरेको देख्दा यि दुवै संस्थाको प्रशंसा भइरहेको छ । जानकी मन्दिरका सहायक महन्त राम दासले सेना र वृहतरले बाह्रबिघ्घामा गरेको काम र व्यवस्थापनको सराहना गरेका छन् ।

महोत्सवमा आएका सम्पुर्ण आगन्तुक दर्शनार्थी, भक्तजन तथा स्थानीयले शिविरमा सेना र सेनाका कामहरु लाई बुझनुका साथै निशुल्क स्वास्थ्य उपचारको पनि सेवा लिन सक्ने विष्णु दल गण धनुषा महेन्द्रनगरका गण पत्ति खिलेन्द्र राज अमागाईंले बताए । सेनाले नेपाल भारत र स्थानिय गरि लाखौंको संख्यामा सहभागिता हुने यस महोत्सवमा प्रत्यक्ष सेवा र परोपकारका कार्यमा सहभागि भई जनता सँगको सामिप्यता बढाउने प्रयत्न थालेको देखिन्छ ।
सप्ताह व्यापी विवाह पञ्चमी महोत्सवको पाँचौ दिन आज माता जानकीले आफनो विवाह मण्डपका लागि मटकोर (माटो खन्ने) विधी भइरहेको छ भन्ने भोली यसै बाह्रबिघा रंगभूमि मैदानमा भगवान रामजानकीको डोला आएर भव्य स्वयंवर भई साँझ जानकी मन्दिर प्राङ्गणमा वैवाहिक कार्यक्रम हुनेछ ।





