एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ९ : धनुषाको रघुनाथपुर (हाल सबैला नपा वडा नं. १२ र १३ ) मा युवाहरु सफाई र हरित अभियानलाई तिब्रता दिएका छन् । बजार क्षेत्र ओगटेको वडा नं. १२ मा आज देखि गाउँका काठमाण्डौं निवासी युवाहरुले अभियान थालेका छन भने ग्रामिण टोलहरू ओगटेको वडा नं. १२ वडा अध्यक्ष समेतलाई सक्रिय बनाउदै युवाहरु दिपावली भन्दा अगाडि देखिनै सक्रियता देखाइरहेका छन् ।

रघुनाथपुर को मुल निवासी रहि काठमाण्डौं उपत्यकामा बस्दै आएकाहरुको संस्था रघुनाथपुर धनुषा काठमाण्डौं समाजको अगुवाईमा रघुनाथपुर हरिहरनाथ चौक स्थित पसलेहरूलाई गमला वितरण गर्दै हरियाली र सफाइका लागि सचेतना अभियान चलाइएको छ । समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठको विशेष उपस्थितीमा समाजका अगुवाहरु स्थानिय युवा अगुवा र श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिका अगुवा हरुलाई हरिहरनाथ मन्दिरमा हस्तान्तरण गर्दै गाउँ सफाई अभियान थालेका हुन ।

उता गाउँको ग्रामिण क्षेत्रमा पनि सफाई अभियानले तिव्रता पाएको छ । स्थानिय युवाहरुको अगुवाईमा वडा अध्यक्ष समेतलाई संगै राखेर युवाहरु झारु सहित सडक र वातावरण सफाइमा सक्रियता बढाएका छन् ।





