एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ७ :
जनकपुरधामस्थित गणेश युवा कमिटीले हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको पर्व छठ पूजालाई लक्षित गर्दै दलित, विपन्न तथा सीमान्तकृत समुदायकी व्रतालु महिलाहरूलाई साडी वितरण गरेको छ।

कमिटीका अध्यक्ष सन्तोष कुमार महतोका अनुसार छठ पर्व श्रद्धा, निष्ठा र आस्थासँग गहिरो सम्बन्ध राख्ने महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसमा महिलाहरूले सूर्यदेव र छठी माईको आराधना गर्दै नयाँ वस्त्र धारण गर्ने परम्परा रहिआएको छ।

शुक्रवार आयोजित एक विशेष कार्यक्रमका क्रममा कमिटीको कार्यालयमा आयोजित वितरण समारोहमा आर्थिक रूपमा कमजोर करिब अढाई सय महिलाहरूलाई साडी सहयोग गरिएको थियो।

अध्यक्ष महतोका अनुसार छठ पर्व केवल धार्मिक विधि मात्र नभई सामाजिक एकता, समानता र सहअस्तित्वको सन्देश दिने पर्व हो। उनका भनाइमा, “गणेश युवा कमिटीले साडी वितरणमार्फत समाजका सबै वर्गका महिलाहरूलाई धार्मिक उत्सवमा सहभागी गराउने उद्देश्य लिएको हो।”

उनीले गणेश युवा कमिटी विगतदेखि नै जनकपुरधाममा धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै, आगामी दिनहरूमा पनि यस्ता समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।