एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ७ : 
छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब जनकपुरधाम गार्गी तथा लियो क्लब जनकपुरधामले संयुक्त रूपमा न्यून आय भएका श्रद्धालुहरूलाई पूजा सामग्री सहयोग गरेका छन्।

“पछाडि परेकाहरू र समस्यामा परेका मानवको सेवा गर्नु हाम्रो मानवीय दायित्व हो,” भन्ने उद्देश्यका साथ क्लबहरूले श्रद्धालुहरूलाई छठ पर्व सम्पन्न गर्न आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

क्लबहरूले ६५ जना श्रद्धालुहरूलाई छठ पूजाका लागि आवश्यक सामग्री वितरण गरेका हुन्। सहयोग सामग्रीमा सारीसहितका बस्त्र, गहुँ, नरिवल लगायतका पूजाका सामान समावेश छन्।

छठ पर्वको मात्र दुई दिन बाँकी रहँदा श्रद्धालुहरूको सहजताका लागि यो सहयोग कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष लायन डा. राजेश साह ले जानकारी दिनुभयो।