एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ :
मंगलवार विहान १० बजे । जानकी मन्दिरमा मान्छेको भिड छ, भिडमा मन्दिरका महन्त पनि छन र उनका अगाडि चुरा, दही, पान मखान सहितको पकवानै पकवानको भण्डारण गरिएको छ । जानकी मन्दिरमा यो पकवान र परिकारहरु महोत्तरी रतौलीका एक परिवार आज मात्र होइन १ सय ५१ वर्ष देखि निरन्तर आजकै दिन लिएर आइपुग्छन्, किनकी यो उनीहरुको आस्था र मनोकामना पुरा भएको विषय हो ।

आज शरद पूर्णिमा मिथिलामा कोजाग्रत पूर्णिमा पनि भनिन्छ । यस दिनको विशेष महत्व छ । आजको दिन पान मखान बातासा खानका साथै नव विवाहिता बेहुलीको घरबाट बेहुलाको घरमा कोसेली पठाउने विशेष दिन । जानकीलाई आफ्नी छोरी मान्दै महोत्तरीका एक परिवार करिव १ सय ५१ वर्ष देखि निरन्तर उपहार पठाउने क्रमलाई निरन्तरता दिइरहेका छन् । आजको दिन मिथिलाञ्चलमा सबैले पान र मखान खानुपर्ने परम्परा र चलन रहेको छ । खासगरी कोजाग्रत मिथिलाञ्चका महत्वपूर्ण पर्वहरु मध्ये एक हो ।

हिन्दु संस्कृतिमा बाह्र महिनाको बाह्रै ओटा पर्वको आफ्नै महत्व रहेको छ । माघे सं क्रान्तिका दिन घ्यू खिचडी खाने, भदौमा हुने चौरचन मा दही खाने, दिपावलीमा धर आङ्गन सफा गर्ने जस्तै यो पर्वमा दही, पान र मखानको समेत विशेष महत्व रहेको छ । त्रेता युगमा भगवान श्री कृष्णले यसै दिन रास लिला गरेको र यो दिनमा चन्द्रमा चोकरमा अमृत बर्षा हुने भएकोले मिथिलाबासीहरु आजैका राती खीर बनाएर आफ्नो छतमा राखी भोली प्रसादको रुपमा खाने गर्छन ।

यो दिन नव बिबाहित बेहुली पक्षबाट बेहुलाको घरमा सेता फल र पकवान पान, मखान, चिउरा, दही, लावा, काजु, छोहोरा, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ । बेहुला पक्षका घरमा बेहुलालाई चुमाउन गरी बेहुली पक्षबाट आएको भार (परिकार सहितको कोसेली) भोजको रुपमा आफ्नो इष्टमित्र, परिवारजन, आफन्त र छर छिमेकमा खुवाउने चलन रहेको छ । महोत्तरी रतौलीका एक परिवार एक सय ५१ वर्ष देखि निरन्तर जानकीलाई आफनो छोरी मान्दै प्रत्येक वर्ष १ सय आठ वटा भार (कोसेली) पठाउने गरेका छन् ।

महोत्तरी रतौलीका तत्कालिन जमिन्दार महेन्द्र प्रसाद ठाकुरले डेढ सय वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए । ठाकुरले जानकी माता संग पुत्र प्राप्तीको कामना गर्दै भाकल गरेको र पुत्र भएपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा दही, चिउरा, पान मखान सहितको भार पठाउन सुरु गरेका थिए । त्यसपछि उनका छोरा, नाती हुदै पर नाती समेत अहिले सो परम्परा जोगाउँदै प्रत्येक वर्ष भार लिएर आउने गरेको उनका पर नाती नविन कुमार ठाकुर हर्षित हुदै बताउछन् ।

रतौलीका नविन कुमार ठाकुर

विधि अनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ । उनको पुर्खाले जानकी मन्दिर संग जोडिदिएको यो रिवाज उनका लागि पनि गौरवको विधी बनेको छ । ठाकुरको घरबाट आएको भारको दही च्यूरा पान, मखान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन् । उनले मिथिलामा यस किसिमको आस्था र परम्पराको आफनै महत्व रहेकाले जनजागरण अभियान चलाउनु पर्ने बताए ।

आजको दिन नव दुल्हादुल्हीहरु मिलेर चौपर समेत खेल्दछ । आज साँझ चन्द्रमाले अत्याधिक सितलता दिने भएकाले आज साँझ जानकी मन्दिरमा भगवानलाई वाहिर निकालेर चुमाउन विधि हुन्छ र विशेष नाच, गाना बाजाना पनि हुने र प्रसादका रुपमा मह, पान, मखान सहितका परिकार वितरण हुने परम्परा छ । भक्तजनहरु आज जानकी मन्दिरमा पान मखान सहितका प्रसादका रुपमा पनि चढाउन छन् । साथै कोजाग्रत पूर्णिमाका दिन मिथिलाञ्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ । यसका लागि बजारमा आजका दिन पान र मखान किन्नेहरूको समेत घुइँचो लाग्ने गर्दछ भने मखानका ब्यापारीहरु पनि आजका दिन राम्रो ब्यापार गर्ने गर्दछन् ।