एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ :
विजय दशमीको हिन्दुहरुको महान चाड हो । हिन्दु समाज अहिले आफनो वडा चाड मनाउने उल्लासमा छन् । यसै बिच एक मुस्लिम चेलीले समेत विजयादशमीको अवसरमा परोपकारी काम गर्दै निमुखा दिनदुखीहरुसंग दशैंको टिका मनाएकी छिन् ।

जनकपुरधाम स्थित मानव सेवा आश्रममा विहिबार पुगेर सुनसरीको इटहरी घर र जनकपुर ससुराली रहेकी २८ वर्षिय खातुनले त्यहाँ स्थित ६० जना दिनदुखीहरुलाई नयाँ लुगा प्रदान गर्नुका साथै टिका जमरा लगाई दिइन् ।

१७ वर्षको उमेर देखि महिला र बालबालिकाको क्षेत्रमा अधिकारकर्मीको रुपमा काठमाण्डौं बसेर काम गर्दै आएकी खातुन रिलिफ नेपाल फाउन्डेशन गैरसरकारी संस्थाको माध्यमले सो क्षेत्रमा काम गर्दै आएकी छिन् ।

महोत्तरीकी एक मुस्लिम घरेलु हिंसा पिडित महिलालाई न्यायका लागि जनकपुरधाम आएकी उनले यस वर्ष जनकपुरधाम स्थित आश्रममा सो कार्य गरेको यद्यपि निरन्तर पाँच वर्ष देखि हरेक वर्ष विजयादशमीको टीकाका दिन आश्रम पुगेर यो काम गर्दै आएको बताईन् ।

विगत १२ वर्ष देखिको अधिकारकर्मीको रुपमा गरेको कामको शिलशिलामा उनले भारतमा बेचिएकी चेलीबेटीलाई समेत उद्दार गर्ने विभिन्न सफल प्रयास गरेकी छिन् । उनले जात र धर्म भन्दा पनि मानव जाती बारे बुझेपछि थप मुस्लिम चेलीहरु यस्ता समाजिक र परोपकारमा प्रेरित होस भन्ने उद्देश्यले यस्तो कार्यमा लागेको बताउँछिन् ।