एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : विजय दशमीको सातौ दिन सप्तमी तिथि जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ । षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फुल सप्तमी तिथिका दिन अर्थात आज टिपेर जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर सहित यहाँका देवी मन्दिरहरु र पण्डाल फुलपाती भित्र्याइएको हो ।

सो अवसरमा जनकपुरधामको श्री राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामी सहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फुलपाती भित्र्याइएको हो । जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ ।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजा सहित राजदेवी मन्दिरका महन्थ राम गिरिको नेतृत्वमा निस्केको भक्तजनहरुको समूहले बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए ।

निम्ता दिएको बेलको फललाई सप्तमी तिथिका दिन बिहान तोडेर मन्दिरमा ल्याई बली दिने परम्परा रहेको छ । आजबाट विधिवत बली दिने विधिको पनि प्रारम्भ हुनेछ ।





