काठमाडौँ , भदौ ३० :
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख अन्य खर्चका लागि उपलब्ध गराइनेछ । क्षतिपूर्ति रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने उनले जानकारी दिए ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने छ भने मृतकको शव सम्बन्धित स्थानमा पुर्‍याउन सवारी साधनको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । दुर्गम क्षेत्रका लागि हेलिकप्टरमार्फत शव पुर्‍याउने व्यवस्था हुनेछ । साथै दाहासंस्कारमा समेत सरकारले सघाउने भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर ७२ जनाको ज्यान गएको छ भने २ हजार ३१६ जना घाइते भएका छन् । हाल विभिन्न अस्पतालमा २८३ जना घाइते उपचाररत छन् । मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेको सरकारको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि गरेको छ । गृह मन्त्री अर्यालले भने, ‘स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भइसकेको छ, तर स्थान भने यकिन भएको छैन ।’
आन्दोलनका क्रममा आगजनीका कारण ज्यान गुमाउनेहरूको शव खोजी कार्य अझै जारी छ ।