एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ : आन्दोलनको नाममा फरक फरक स्थानमा सरकारी सम्पति लुटपाटका साथै तोडफोड र आगजनीमा संलग्न रहेकाहरु मध्ये ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।
उनका अनुसार मधेस लोकसेवा आयोगको कार्यालयमा तोडफोडका साथै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहीदनगर नगरपालिका ३का शिवम साह र जनकपुरधाम १३का काले पटेल रहेका छन् । त्यस्तै बलवा प्रहरी चौकीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा निरज मिश्र र कृष्ण यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

यता मधेस भवन भित्र विभिन्न मन्त्रालयमा समेत तोडफोड तथा आगजनी भएको थियो । मन्त्रालय तोडफोड तथा आगजनीका साथै सरकारी सामान चोरी गरेको आरोपमा समेत दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चन्दन कुमार साह र गौतम भगत रहेका छन् । उनीहरुको साथबाट २ वटा कम्प्युटर, प्रिन्टर लगायतका सरकारी सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध कानूनी प्रकृया अगाडी बढाएर कारबाही गरिने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले काठमाडौँस्थित केन्द्रीय कारागारबाट भागेका ४ जना विदेशी नागरिकहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना नाइजेरियन नागरिक र १ जना ब्राजिलियन नागरिक रहेका छन् । पक्राउ पर्नेमा नाइजेरियाका वर्ष ३८ को मो. लामिन्स डाबो, वर्ष ३५ को ग्लोरी बडे, वर्ष ५५ को ईमानुअल ओवुडा उजेईग्बे र वर्ष २५ का ब्राजिलका लारेशन ब्रिटो रहेका छन् । उनीहरुलाई भदौ २७ गते नेपाल भारतको सीमानाका धनुषाको महिनाथपुर र सवैलावाट प्रहरीले पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

उनीहरू लागु औषधको कारोबारमा केन्द्रीय कारागारमा सजाय पाएकामा जेनजीको आन्दोलनको क्रममा गत मङ्गलवार फरार भएका थिए । भारतको बाटो भएर आफ्नो देश फर्किने उद्देश्यले काठमाडौँबाट विभिन्न जिल्लाको बाटो भएर ती विदेशी कैदीहरू धनुषा जिल्ला जिल्लामा आइपुगेको अनुमान प्रहरीले गरेको छ । प्रहरी उपरीक्षक रेग्मीका अनुसार रेल्वे प्रहरी चौकीमा पूर्ण रुपमा क्षति भएको छ भने ट्राफिक कार्यालय धनुषा, जिरोमाइल प्रहरी चौकी, मुजेलिया प्रहरी चौकी लगायतको प्रहरी चौकीमा समेत क्षति पुगेको छ ।



