काठमाडौं , भदौ १६ :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन्।
चीनको तियान्जिनमा सोमबार आयोजित एससीओ प्लस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरको हैसियतबाट सदस्य राष्ट्रको स्तरमा उकास्न आग्रह गरेका हुन्। उनले नेपाल सन् २०१६ देखि एससीओको डाइलग पार्टनर रहेको स्मरण गराउँदै अब पूर्ण सदस्य बन्ने अपेक्षा राखेको स्पष्ट पारे।
“हामीलाई अहिले अझ एकीकृत, समाहित र लचिलो एससीओको खाँचो छ,” प्रधानमन्त्री ओलीले भने, “गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटलाई सामूहिक रूपमा सामना गर्नुपर्छ।”
हाल एससीओमा चीन, भारत, रूस, पाकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस सदस्य राष्ट्र रहेका छन्।





