एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ :
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह पुर्वे प्रहरीमा स्वंयम उपस्थित भएका छन् । कीर्ते जालसाजी अभियोगमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि उनी आफै अनुसन्धानमा सहयोगका लागि उपस्थित भएको उनको परिवारजनले जनाएको छ ।

पत्रकार महासंघका पुर्व केन्द्रिय कोषाध्यक्ष समेत रहेका उनी प्रहरीमा हाजिर हुन भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा स्वयम उपस्थितिको निवेदन पनि दिएका थिए । पुर्वेलाई उद्दृत गर्दै उनका परिवारजन भन्छन, ‘अनुसन्धान होस, यदि किर्ते हस्ताक्षर प्रमाणित भयो भने जुनसुकै कारवाहि भोग्न तयार हुन्छु ।’

परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारी बर्खास्त गरेको अभियोगमा साह माथी सो मुद्दा दायर भएको थियो । परिषद्का कार्यकारी निर्देशक पासवानले अध्यक्ष साह आफ्नो हस्ताक्षर कीर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत चैत २८ गते उजुरी दिएका थिए ।

पुर्वे माथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ । साहले हस्ताक्षर कीर्ते गरी प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेको भनि आरोप छ ।