एसपि रिपोर्टर
काठमाणडौँ, बैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईँहरू विचलित हुन हुँदैन । यसमा दलीय राजनीति गर्नु हुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।”उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।





