एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : धनुषा बटेश्वरका आँप किसानहरुले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाउदै आँप किसान केन्द्रित कार्यक्रमहरु ल्याउन मांग गरेका छन् । सो क्षेत्रका किसानहरुको अगुवा पत्रकार समेत रहेका फुलगेन मगहीको अगुवाईमा युवाहरु मुख्यमन्त्रीलाई भेटेर सो क्षेत्रको किसान, आँप उत्पादन, चुनौती, समस्या र सम्भावनाहरु बारे जानकारी गराउनुका साथै ज्ञापन पत्र समेत बुझाएको छ ।

विज्ञप्तीमा लेखिएको छ,

‘मधेश प्रदेशमै सम्भवतः सबैभन्दा धेरै आँप खेती हुने पालिका धनुषाको बटेश्वर गाउँपालिका हो । यहाँका आँप किसानले कृषि उत्पादनसँगै पर्यावरण संरक्षणमा समेत ठूलो योगदान दिएका छन । तर स्वच्छ हावा र गुलियो आँप उत्पादन गर्ने यहाँका कृषको पीडा सहिनसक्नु भएको छ । वर्षेनी हावाहुरी तथा असिनाबाट यहाँका किसानको करोडौं रकम बराबरको क्षति हुने गरेको छ । किराको प्रकोपबाट यसपाली बटेश्वर गाउँपालिकाको आधाभन्दा धेरै आँप बगैंचामै सडेर बर्बाद भयो । वर्षभरको मिहिनेत खेर गएपछि यहाँका किसान हप्तौँसम्म आँशु बगाएका थिए । तर तीनमध्ये कुनैपनि तहका सरकारले आँशु पुछ्न त टाढाको कुरा सोधखोज समेत गर्न आएनन । यसअघि प्राकृतिक विपदाले करोडौँको क्षति ब्यहोरेका किसानलाई राहत दिइने भनेर आश्वासन दिएर कैयौँ पटक क्षति विवरण समेत सरकारी अधिकारीले संकलन गरेर लगे । तर किसानले क्षतिपुर्ति आजसम्म एक रुपैयाँ पाएनन । यहाँसम्म कि पकेट क्षेत्र अनुसार पाउनुपर्ने अनुदान समेत पाएनन । उत्पादन भएका आँप समेत बजार नपाउँदा फाल्नुपर्ने अवस्था छ । स्थानीय बजारमा बिक्रीका लागि लाँदा नबिकेपछि वर्षेनी पचासौँ क्विन्टल आँप यहाँका किसान बजारमै फालेर आउनुपरेको छ । यसपाली किसान तथा स्थानीय व्यापारीले दर्जनौ ट्याक्टर आँप बडहरी खोलामा फाल्नुपर्यो । घाटा लाग्ने देखेर आँप बगैंँचा किनेका कतिपय व्यापारी किसानको पैसै नदिइ भागे । वर्षभर मिहिनेत र लगानी गर्दा समेत उपब्धि नै नआउने र सरकारले समेत किसानको पीडामा मलम लगाउने आश नदेखेपछि केही किसान विघौँ विघामा लगाएका आँप बगैंचा फडानी गर्ने निष्कर्षमा पुगेका छन । करिब ८२ विघा जमिनमा लगाइएको ६ हजार आँपको बोट फाँडेर स्थानीय किसान सोलार प्लान्ट स्थापनका लागि जग्गा भाडामा दिने तयारी गरिरहेका छन । यसले ठूलो पर्यावरणीय क्षति हुनेछ । तीनै तहका सरकारमध्ये कसैले पनि यहाँका कृषकको पीडा बुझ्ने प्रयास समेत गरेको छैन । यहाँका वास्तविक किसानले न आँप खेतीका लागि आजसम्म प्रदेश सरकारबाट एक रुपैयाँ सहुलियत एवं अनुदान पाएका छन न स्थानीय तहबाटै । आँप किसानलाई किटनाशक औषधी, प्रबिधि, भण्डारण तथा बजार व्यबस्थापनको अत्यन्तै धेरै खाँचो छ । आँप खेती र पर्यावरा संरक्षणमा हौँसिएका बटेश्वरका किसानले यसपाली नेपालमै प्रथम पटक आँप मेला समेत लगाएका थिए । जसका कारण प्रदेश भरीका धेरै व्यपारी, ग्राहक र अध्येताले बटेश्वर गाउँपालिका भ्रमण गरे । आँप मेलाले देश तथा बिदेशबाट प्रशांसा बटुल्यो । कुनै निकायबाट किसानले सहयोग एवं भरोसा नपाएपछि अन्तिममा हामीले मधेश प्रदेश सरकारलाई किसानको पीडामा सहयोग गर्न गुहार लगाउन आएका छौँ । हामीले सुन्दर बटेश्वर गाउँपालिकालाई ध्यानमा राखृृेर अझ बढी वृक्षारोपन गनुपर्ने र देशभरीकै आँप कृषकहरुको अध्यन केन्द्रको रुपमा बिकास गर्नुको सटो रहेको उपलब्धि समेतलाई ध्वस्त पार्न लागेको हँुदा प्रदेश सरकारलाई समयमै ध्यान पुर्याई आँप खेती सम्बन्धी योजनाबद्ध विकासका लागि अनुरोध गर्दछौँ । अतः आँप खेती प्रवद्र्धन तथा संरक्षण गर्न किसानलाई उत्प्रेरित गर्नका लागि तपसिल बमोजिमका माग तुरन्त सम्बोधन गर्न मधेश प्रदेश सरकारसँग माग गर्दछौँ । माग पुरा नभए आन्दोलन गर्न समेत बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

उनीहरुको मांग यस्तो छ :
१.बटेश्वर गाउँपालिकामा आँप किसानलाई लक्षित गरी कोल्ड स्टोर निर्माण प्रक्रिाय तुरन्त अघि बढाउनुपर्ने ।
२.आँप किासनको बिमा गर्नुपर्ने
३.नील गाई व्यवस्थापनका लागि कदम उठाउनुपर्ने
४.नमूना पकेट घोषण अनुसार किसानलाई अनुदानको व्यबस्थापन गर्नुपर्ने
५.आँप खेतीका लागि विशेष अनुदानमा किटनाशक औषधी, मलखाद र उपकरणको व्यवस्था गर्नुपर्ने
६.सिँचाईको व्यवस्था गर्नुपर्ने
७.बजार व्यवस्थापन गर्नुपर्ने