एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा पत्र मार्फत जानकारी गराएका छन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले २९ जेठ सम्म विश्वासको मत लिनुपर्नेछ ।
सभामुख मण्डल छलफलमा
मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते विश्वासको मत लिने पत्र मधेश प्रदेशसभा सचिवालयलाई पठाएको छ । जेठ २३ गते अर्थात् आज अपराह्न ३ बजेबाट बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची तोकिएको छ ।
विश्वासको मत लिने समय परिवर्तन गर्ने विषयमा मुख्यमन्त्रीको पत्रमा छलफल गर्न प्रदेशसभामा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले बताए । उनले समय सार्ने विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए ।
मुख्यमन्त्री यादव पक्षधरका अनुसार जेठ २९ गतेभित्र विश्वासको मत लिने समयसीमा भएकाले विश्वासको मत लिने समय सार्न प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको जानकारी दिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारबाट अलग्गिदै सरकारलाई दिएका समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने तर्क गरेका छन् ।
तर, प्रतिपक्षीहरूले भने सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले आज जेठ २३ गतेभित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेका छन् ।
मुख्यमन्त्रीको दल विभाजित भएमा वा सरकारबाट कुनै राजनीतिक दल फिर्ता भएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसपा नेपाल विभाजनका सन्दर्भमा सम्पूर्ण प्रक्रियालाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यसअनुसार जसपा नेपाल विभाजित भएकै कारण जेठ २३ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिन बाध्य रहेको तर्कलाई कानुन व्यावसायीहरूले अस्वीकार गरेका छन् । मुख्यमन्त्रीले समय सार्न लेखेका पत्रका विषयमा सभामुखको निर्णय आउन बाँकी छ ।





