एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २७ : मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विहिवार विभिन्न भन्सार तथा भारतिय सिमानाकाहरुको स्थलगत अवलोकन तथा निरिक्षण गरेका छन् । तिनवटै सुरक्षा निकायका मधेश प्रदेश प्रमुख डिआइजीहरुको साथमा मन्त्रालयबाट निस्केको मन्त्री लेखी नेतृत्वको टोली महोतरीको जलेश्वर भिठ्ठामोड स्थित भन्सार विओपी र सम्सी नाकामा पुगेर अवलोकन तथा निरिक्षण गरेका छन् ।

अवलोकन निरिक्षण पछि मन्त्री लेखीले चोरी र अपराधका घटनाहरु, लागु पर्दाथ दुव्र्यसनका घटना र ओसार पसार तथा शान्ति सुरक्षाको अवस्था र सिमानाकामा भइरहेको आवागमण तथा राजश्व संकलन सहितका विभिन्न विषयहरुमा बुझनका लागि तिनवटै सुरक्षा निकायका प्रमुख सहित अवलोकन गरिएको बताए ।

राजश्व संकलन पनि कम्तिमा ८५ प्रतिशत भन्दा बढिको हाराहारीमा भइरहेको जानकारी आफुले पाएको बताउदै मन्त्री लेखीले शान्ति सुरक्षा समान्य रहेको पाइएको बताए । रातराती लुकिछिपी चोरी पैठारी, निकासा र लागु पदार्थ दुव्र्यसनका घटनाहरु भइरहेको पाइएकाले सिमानाकामा रहेका सिसिटिभीहरुको बारेमा पनि बुझिइएको र बन्द रहेकालाई मर्मत गरि सुचारु गर्न निर्देशक दिइएको उनले बताए । सो टोलीमा नेपाल प्रहरी, शस्त्र प्रहरी बल, अनुसन्धान विभागका डिआईजी सहित महोतरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको समेत सहभागिता थियो ।





