एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ : श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट बनाइने ११ हजार स्क्वायर फिटको सितारामको प्रतिमा बनाउन समिति बनाएर काम थालिएको छ । समितिको संयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठलाई बनाइएको छ भने सल्लाहकारमा जनकपुरधामका मेयर मनोज कुमार साह सहितका छन् ।
प्रतिमा एतिहासिक बाह्रबिघ्घा रंगभुमि मैदानको उत्तरी पुर्वी कुणामा बनाइने भएको छ । छ ईन्च माटो भरेर समतल बनाई करिव तिन कठ्ठा जमिनमा कार्पेट ओछयाएर प्रतिमा बनाइने जस्का लागि भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जर जनकपुरधाम आइपुगेको बताइएको छ ।
कुल ७२ क्वीन्टल अनाजबाट २१ लाख २३ हजारको लगानीमा बन्न लागेको प्रतिमा गिनिज बुक अफ वल्र्ड रेर्कडमा दर्ज हुने बताइएको छ । यस अघि सोहि कलाकारले भारत उत्तर प्रदेशको अयोध्यामा सो आकारको प्रतिमा बनाएर रेकर्ड बनाएकोमा जनकपुरधाममा त्यस भन्दा पनि ठुला बनाएर थप रेकर्र्ड बनाइन लागिएको हो ।

कलाकारहरुले मेहनत खर्च नलिने र निशुल्क प्रतिमा बनाउन लागेको बताइएको छ । अनाजमा आवयश्क पर्ने २५ क्वीन्टल चामल जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, १८ क्वीन्टल कालो उरिदको दाल जनकपुर चिकित्सक एशोसिएसन, निजि अस्पताल सञ्चालक संघ धनुषाका अध्यक्ष डा. एसके सिंह सहितका संघ संस्था र व्यक्तिहरुले व्यवस्थापनको जिम्मा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
बिश्व हिन्दु परिषदका धनुषा अध्यक्ष सन्तोष कुमार साह र संयोजक महासेठको नाममा संयुक्त खाता खोलेर आर्थिक संकलन तथा खर्च विवरण पछि सार्वजानिक हुने गरि व्यवस्थापन मिलाइएको मेयर साहले बताए । यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि) मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।

यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी कार्यक्रम अन्य वर्ष झै मनाइनेछ । रंगभूमि मैदानमा अन्नबाट ११ हजार स्कावयर फिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुदै आएकोमा मेयर साहले ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशतलाई पिसाएर गौशालामा गाईबस्तुलाई खुवाइने बताए ।





