एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १२ : धनुषाको विदेह नगरमा नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख बेचन दास र उनका भाई प्रदेशसभा सदस्य लखन दासले गुण्डा लगाएर स्थानीयलाई कुटपीट गराउन लगाएको आरोप लगाइएको छ ।
विदेह नगरपालिकामा लगातार दोस्रो पटक नगरप्रमुखमा निर्वाचित भएका दासले आलोचना गरेकै कारण कार्यकर्ता लगाएर अपहरणशैलीमा कुटपीट गराउन लगाएको आरोप लगाइएको हो ।
गत शुक्रबार साँझ जनमत पार्टी विदेह नगरपालिका वडा नम्बर ८ कमिटीका अध्यक्ष एवं मण्डल केवट सेवा आश्रमको अध्यक्ष पदका प्रत्याशी सुरेश मण्डललाई एमाले मधेशका प्रमुख सचेतक लखन दास र नगरप्रमुख बेचन दासले अपहरणशैलीमा ज्यान मार्ने उद्देश्यले कुटपीट गर्न लगाएको आरोप श्री मण्डल केवट सेवा आश्रमका राष्ट्रिय अध्यक्ष विपीन कुमार मण्डलले लगाए ।
भिडियोमा सुन्नुहोस उनीहरुको आरोप
अध्यक्ष मण्डलले नगरप्रमुख बेचन दासका छोरा भजन दास लगायतको समूहले कुटपीट गरेको आरोप लगाए । मण्डलले भने, ‘नगरप्रमुख बेचन दास र प्रदेशसभा सदस्य लखन दासले सुरेश मण्डललाई कुटपीट गर्दै प्रहरी चौकी तिनकौरियामा बुझाएको थियो ।’ सुरेश मण्डललाई नगरप्रमुख बेचन दासका मान्छेहरुले घरबाटै अपहरण गरेको र ज्यान मार्ने योजना सहित कुटपीट गरेको आरोप लगाए ।
सुरेश मण्डलले गत विहिबार जनकपुरधामस्थित मण्डल केवट सेवा आश्रमको बैठकमा नगरप्रमुख बेचन दास र प्रमुख सचेतक लखन दासलाई नाम किटान गरी गाली गलौज नगरेको समेत बताए । उनले भने, ‘सुरेश मण्डलले जाति उत्थान, विकास तथा संगठन मजबुत बनाउने सम्बन्धमा आफ्नो धारणा राखेको मात्र हो ।’ नगर प्रमुख दासले मण्डल जातीलाई हेप्ने गरेको गुनासो मात्र उनले गरेको बताइएको छ ।
सो कुरालाई नकारात्मक रुपमा लिदै प्रमुख बेचन दास तथा प्रमुख सचेतक लखन दासले नगर प्रमुखका छोरा भजन दासलाई लगाएर १०÷१५ जना समुहमा उनलाई बफै र लवटोलीको बीचमा पर्ने भुतही गाछीबाट अपहरणशैलीमा कुटपीट गरी सख्त घाइते बनाएको उनीहरुको आरोप छ ।
उनको उपचार जनकपुरधाम स्थित रामजानकी होस्पिटलमा भइरहेको उनीहरुले बताए । त्यस्तै एमालेका कार्यकर्ताहरुले विदेह नगरपालिका वडा नम्बर ६ स्थित एकराही बस्ने प्रदिपकुमार मण्डललाई पनि घरमै पसेर मरनासन्न हुने गरी कुटपीट गरेको आरोप उनीहरुको छ । सुरेश मण्डलको अपहरण गरी कुटपीट गर्नु अघि एमालेका कार्यकर्ताहरुले सार्वजनिकरुपमा गालीगलौज गरेको भन्दै उनलाई स्थानीय प्रहरी चौकीमा बुझाउन खोज्दा झडप भएको थियो ।





