एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : करिव ५ हजार बिघ्घा खेती योग्य जमिन सिंचाई प्रत्यक्ष लाभ लिन सकिने चार दशक अगाडि देखिको प्रतिक्षित जमुनी कटहा सिंचाई आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको दावी गरिएको छ । शनिवार आयोजनाको विभिन्न भागहरुको स्थलगत निरिक्षण अवलोकनको क्रममा आयोजना उपभोक्ता समितिका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता प्रवेश चौधरीले अव केहि प्राविधिक काम बाहेक आयोजनाको करिव सवै काम सम्पन्न भएको बताएका छन् ।
उनले भने, ‘मुख्य र दशकौं देखि विवादित नहर खन्ने काम हामी स्थानिय जनप्रतिनिधीहरु, जनता र किसानको सहयोग र त्यागको परिणाम स्वरुप सम्पन्न गर्न सफल भयौं ।’ उनले मुल नहर ९ किलोमिटर, शाखा नहर ७ किलोमिटर साथै १ किलो मिटर पक्की नहर निर्माण समेत सम्पन्न भई कुल १७ किलोमिटर नहर खन्ने काममा स्थानियले सहयोग र त्याग गरेकोमा धन्यवाद दिए । यस अघि आफनो खेतबाट नहर खन्न नदिने भन्दै स्थानियको बिबाद र अवरोधका कारण दशकौ दशक देखि सो आयोजना अलपत्र थियो ।

उनले बोलपत्र आह्वान अनुसार अव कलभर्ट, पानी प्रवाहका लागि हेमपाईप, प्लाष्टिको जाली र नहर सफाईको काम मात्र वाँकी रहेको जुन तिनचार महिनामै गर्न सकिने बताए । दशकौं देखि हुन नसकेको काममा त्याग गरेर किसानहरुले पनि सहयोग गर्दा सफल भएकोमा जनकपुरधाम वडा नं. २५ लोहनाका वडा अध्यक्ष चन्देश्वर साह र औरही गाँउपालिकाका वडा नं. २ का वडा अध्यक्ष किशुन यादवले खुसी व्यक्त गरे ।
लोहनाका पुर्व गाविस अध्यक्ष बिनोद ठाकुरले धनुषाको मध्य र दक्षिणी भेगका किसानहरुको आशा र भरोसाको मुख्या आयोजना रहेको यो पुर्ण रुपमा सञ्चालनमा आएपछि आकाशे र भुमिगत पानीको निर्भरता हटने र पिउने पानीको समस्या पनि समाधान हुने बताए ।

किन बहुप्रतिक्षित छ यो आयोजना ?
दिर्घकालिन सोँचका साथ करिव २०३६/०३७ तिर समाजिक अभियन्ता लक्ष्मीनारायण झाले सो आयोजनाका लागि प्रारम्भिक प्रयास गरेका थिए । तर स्थानियले कडा प्रतिवाद मात्र गरेन उनीमाथी संघातिक आक्रमण पनि नहरमै फालिदिएको थियो । त्यसपछि समाजिक अगुवा जिवछ निधी पनि सो क्षेत्रमा सिचाँईका लागि नहर आवश्यक रहेको भन्दै अगुवाई र प्रयास गरे तर उनी पनि सफल हुन सकेन ।
२०४६ सालको जनआन्दोलन पश्चात महेन्द्र नारायण निधी जलस्रोत तथा स्थानिय विकास मन्त्री हुँदा सो नहर सिचाँई आयोजनका लागि शर्भे गर्न निर्देशन दिइएपश्चात अनौपचारिक पक्रिया अगाडि बढेपनि काम हुन सकेन । कांग्रेस नेता एवंम संविधानसभा सदस्य विमलेन्द्र निधीको प्रयास र पहल समेतमा २०६८ सालमा नेपाल सरकारले सो आयोजना निर्माणको औपचारिक निर्माण प्रक्रिया अगाडि बढायो र टेन्डर आह्वान गरयो ।

आयोजनाका लागि सरकारले कुल ४१ करोड बजेट छुटयाएपनि ठेकेदार कम्पनीले लोबिडिङ्गमा जम्मा २७ करोडमा ठेक्का सम्झौता गरि निर्माण कार्य अगाडि बढायो । सुरुमा १७ करोड रकम बिनियोजन भएर सुरु भएको आयोजनाको कामका लाग पछि १० करोड रकम बिनियोजन भएको बताइएको छ । रमण कालिका जेभी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको काम पेटिकन्टयाक्टमा स्थानिय ठेकेदाहरुले गरिरहेका छन् ।
२०६८ सालमा टेन्डर हुँदा आयोजना उपभोक्ता समितिका प्रथम अध्यक्ष शिव नारायण निधी थिए भने त्यसपछि परमेश्वर यादव अध्यक्ष भए । २०७५/०७६ मा कांग्रेस युवा नेता चौधरी समितिको अध्यक्ष बनेपछि कामले तिब्रता पाएको र हाल सम्म ९० प्रतिशत काम सम्पन्न भएको दावी गरिएको छ ।

धनुषाको देउवरी परवाहा देखि, भोइल, लोहना, बभनगंमा, धनौजी कटैया, बौहर्वा, देवडिहा नवटोली, गांगुली, नगराइन, खिरखिरिया, लगमा, जटही हुदै मुखियापट्टी सम्मको करिव २ हजार हेक्टर (५ हजार बिघ्घा) लाभाम्वित हुने आयोजना सिघ्र सम्पन्नता कार्यान्वयन तथा रेखदेख र सुरक्षाका लागि राज्यले अभिभावकत्व ग्रहण र पहलकदमी लिन आवश्यक रहेको अगुवाहरुको मांग छ ।





