एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ : जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर भित्रको छाडा चौपाया (पशु) व्यवस्थापन गर्न गौशाला सञ्चालनमा ल्याएकोछ । जनकपुरधाम उमहानगरपालिकाको वडा नं. १२ मा उपमहानगरपालिकाले नवनिर्माण गरेको गौशालाको सोमवार उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले संयुक्त रुपमा समुदघाटन गरेका छन् ।
मेयर मनोज साह र उपमेयर किशोरी साहले वडाको सो जग्गाको संरक्षण गरि ट्राफिक व्यवस्थापनलाई मुख्य चुनौतीका रुपमा लिएर गौशाला निर्माणमा प्रेरित गर्ने वडाका अगुवाहरु, गौशाला निर्माण समिति र वडा अध्यक्षलाई धन्यवाद दिदै छाडा चौपाया व्यवस्थापनमा सम्पुर्ण वडा अध्यक्ष र नगरवासीको सहयोग आवश्यक रहेको बताए । गौशाला व्यवस्थापन पछि सडक दुर्घटना र ट्राफिक व्यवस्थापन जोखिम न्युनिकरण हुने मेयर साहको बिश्वास छ ।

गौशालाको समुदघाटनकै दिन करिव दुई दर्जन गाई, साढे र बाछाबाछीहरु समेत नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरी समेतको संलग्नतामा छाडा पशुहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सो पशुहरुलाई राखिने र लिन आउने पशुधनीलाई जरिवाना गरि मात्र छाडिने उपमहानगरपालिकाले जनाएको छ ।

सो अवसरमा गौशाला निर्माणमा अभिभावकीय भुमिका खेलेका स्थानिय युवा दिलिप मण्डललाई कदर पत्र सहित सम्मानित गरिएको थियो भने वडा अध्यक्ष महेन्द्र साह, निर्माण समितिका पदाधिकारी र सदस्यहरु सहित स्थानिय युवाहरुलाई सम्मान गरिएको थियो ।







