एसपी रिपोर्टर
जनकपुरधाम, असार ३१ : नेपालको एकमात्र यात्रुवाहक रेल्वे आज देखि भारतको जयनगरदेखि महोतरीको भंगहा सम्म सेवा विस्तार गरेपछि स्थानिय खुसी भएका छन् । करिव दुई दशक भन्दा बढीको यो सेवा अवरुद्व पछि यस क्षेत्रका सर्वसाधारण आज देखि रेल चढन पाएपछि हर्षित भएका छ ।
यस अघि भारत विहारको जयनगर बजार देखि धनुषाको कुर्था सम्म ३५ किलोमिटर सेवा प्रदान गर्दै आएको नेपाल रेल्वे आज देखि आफनो सेवा महोतरीको भंगहा सम्म विस्तार गरेको छ । आज एक समारोहका बिच नेपाल सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोतरीको भंगहामा रेललाई हरियो झन्डा देखाउदै भंगहा देखि भारतको जयनगर सम्मको सेवा शुभारम्भ गरेको छ ।

अहिले जयनगर–जनकपुर–कुर्था ३५ किमि रेलखण्डमा प्रतिदिन दुई पटक रेलसेवा सञ्चालन भइरहेको छ । अब जयनगर–बिजलपुरासम्म रेल सञ्चालन गर्दा जयनगर–जनकपुर–कुर्थामा समेत एक पटक सेवा थप हुने रेलवे कम्पनीले जनाएको छ । जनकपुरसम्म रेल सेवा सञ्चालन गरेको १५ महिनापछि भंगाहा स्टेसनसम्म रेल सेवा सञ्चालन गर्न रेल्वे कम्पनी सफल भएको रेल्वेका महाप्रबन्धक निरञ्जनकुमार झाले बताए ।
तत्काल दैनिक एक पटक सेवा सञ्चालन गर्ने तालिका रहे पनि जनताको मागअनुसार सेवा विस्तार गर्दै लगिने बताए । भारतीय रेलवे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेलवे ट्र्याक गत जेठ १८ मा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक झालाई हस्तान्तरण गरेको थियो । जयनगरदेखि भंगाहा–बिजलपुरा स्टेसन सम्म ५२ किमि रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । मन्त्री ज्वालाले नेपाल रेल्वे जनताको सहजताका लागि सेवा विस्तार गर्दै गएकोमा खुसी व्यक्त गरेका छन् ।

कुर्थादेखि बिजलपुरासम्मको १७ किमि खण्ड भारतीय रेलवे कम्पनीले हस्तान्तरण नगर्दा रेल सञ्चालनमा आउन सकेको थिएन । विजलपुरादेखि बर्दिवास खण्डको काम भने अझै अघि बढ्न सकेको छैन । उद्घाटनपछि रेलले भंगाहा बिजलपुरा स्टेसन हुँदै जयनगरतिरको यात्रा गरेको छ । जयनगर पुगेपछि रेल आइतबार नै भंगाहा स्टेसनमै आएर बस्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । अहिले जयनगर–बिजलपुरा स्टेसनसम्म प्रतिदिन एक पटक रेल सेवा सञ्चालन गर्ने तयारी रहे पनि यात्रुको मागअनुसार सेवा थप गर्दै जाने योजना रहेको झाको भनाइ छ ।

रेलवे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा पनि रहेको उनले बताए । यसअघिको मुआब्जा विवाद सल्टिसकेकाले अब छिट्टै काम सुरु हुने र दुई वर्षभित्रै बर्दिवाससम्म रेल सञ्चालन गर्ने तयारी रहेको महाप्रबन्धक झाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणको क्रममा भएको महत्वपूर्ण सम्झौताहरु मध्ये जयनगर देखि भंगहा सम्मको रेल सेवा विस्तार समेत एक रहेकाले सिघ्र कार्यान्वयन भएको भारतिय दुतावासका डेपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्तवले बताए ।

सेवा विस्तार संगै त्यस क्षेत्रको स्थानियमा उत्साह बढेको छ । जनकपुरधाम हुदै भारत विहारको सिमावर्ती बजार जयनगर सम्म सजिलै वातानुकुलित रेलमा पुग्ने भएपछि स्थानिय खुसी छन् । यसअघि काठको रेल्वे फलामको लिकमा साना डब्बाका रेल महोत्तरीको बर्दिवास–बिजलपुरा स्टेसनसम्म सञ्चालन हुने गरेको थियो । नेपाल–भारत सम्झौताअनुसार काठ र जडीबुटी नेपालबाट भारत लैजाने र भारबाट उपभोग्य सामग्री नेपाल ल्याउने गरी रेल सञ्चालनमा थियो ।

यसका साथै समुदघाटन समारोहलाई मधेशका कृषि मन्त्री गोविन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर संजिव कुमार साह सहितकाले सम्बोधन गर्दै रेल्वे सेवाको विस्तार प्रति खुसी व्यक्त गर्दै सेवा गुणस्तरीय र सहज हुनेमा विश्वास व्यक्त गरेका छन् ।





