एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १६ स्थित एतिहाँसिक प्रसिद्व महादेवको मन्दिर कपिलेश्वरनाथमा यस वर्षको साउन महिनामा लाग्ने सोमवारी मेलाको व्यवस्थापन चुस्त दुरुस्त पारिएको बताइएको छ । श्री कप्लेश्वर महादेव युवा कमिटिले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्ष मन्दिर वातानुकुलित बनाइनुका साथै लाइन लाग्ने र सहज दर्शन तथा पुजापाठको व्यवस्थापन गरिएको बताएका छन् ।
कमिटिका अध्यक्ष मनोज कुमार साहले मन्दिर भित्र अगरवती बन्देज गरिएको, महिला र पुरुषको लाइन व्यवस्थापन गरि एक मिनेटमा ६० जना दर्शन गर्न पाउने गरि महिलालाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताए । स्थानिय वरिष्ठ पत्रकार समेत रहेका श्री नारायण साहले मन्दिरको इतिहाँस, गरिमा र एतिहाँसिकना सुनाउदै मन्दिरकै कारण कप्लेश्वर रहेपनि कप्लेश्वर विकासमा राज्यले ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए ।

त्यसैगरि वडा अध्यक्ष रामचन्द्र पजियारले कपिलेश्वरनाथको कृपाले कप्लेश्वरको पहिचान रहेको भन्दै स्थानिय, प्रदेश र संघिय तिनै सरकारले कपिलेश्वरनाथलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पुर्वाधारहरुको समेत विकास संगसंगै गर्न आवश्यक रहेको बताए ।
त्रेता युगकालिन ईतिहास रहेको कपिलेश्वरनाथ महादेव मन्दिरको महिमा उजागर गर्ने अभिप्रायले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि स्थानीय कपिलेश्वरनाथ युवा कमिटीले भव्य श्रावणीको आयोजना गरेको हो । स्थानीयवासीको अग्रसरतामा कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंग प्राचिन रहेपनि यसको ऐतिहासिकता ओझेलमा परेकाले त्यसलाई उजागर गर्ने अभिप्रायले भव्य मेलाको आयोजना हुँदै आईरहेको छ । सो मन्दिरमा ४२ वर्षदेखि निरन्तर श्रावणी मेलाको आयोजना हुँदै आईरहेको छ ।
मेला पूर्व शनिबार भव्य कलश यात्रा हुने कमिटीका अध्यक्ष साहले जानकारी दिए । सोमबारदेखि शुरु हुन लागेको श्रावणी मेलाको अवसरमा प्रत्येक दिन मन्दिरमा भव्य पूजा तथा साँझमा भव्य आरती हुने उनले बताए । प्रत्येक सोमबार साउन महिनाभरी २५ हजारभन्दा बढी श्रद्धालुले कपिलेश्वरनाथ महादेवको दर्शन गर्ने उनले बताए ।
त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना गरेका थिए र दैनिक पुजापाठ समेत गर्ने गर्थे । स्थानीयवासीका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेका छन् ।
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीहरुको भनाई थियो । साथै मन्दिरमा रहेको शैयौं वर्ष पुरानो घण्टी प्रमाणस्वरुप देखाउदै सो घण्टीको संरक्षण आवश्यक रहेको समेत वडा अध्यक्ष पजियारले बताएका थिए ।
सो अवसरमा पुर्व वडा अध्यक्ष रामअशिष पजियार, कमिटिका संस्थापक अध्यक्ष बिजय गामी, पुर्व अध्यक्ष सुधिर पजियार, सुजित पजियार सहित युवाहरुको उपस्थिती थियो ।





