एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ :
शुक्रबार असार १५ गते अर्थात २० औँ राष्ट्रिय धान दिवस । देशभरका किसानहरूले धान रोपेर यो दिवस मनाएका छन् । यसै क्रममा जनकपुरधाम वडा नम्बर १७ कनकपट्टीमा जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी शाखाले कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।

‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ कार्यक्रम गरिएको छ । कार्यक्रममा किसान, जनप्रतिनिधिका साथै अन्य सहभागीहरूले कृषकहरूले भोग्दै आएका समस्याको समाधानमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । मेयर साहले हरेक चिज जस्तै किसानको अमुल्य सम्पती खेती र उत्पादनको समेत बाली बिमाका रुपमा बिमा गरिनुपर्ने मांग प्रदेश र संघिय सरकार संग गरेका छन् ।

त्यस्तै, जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले कृषि उत्पादनमा जोड नदिएसम्म जनकपुरधामको विकास हुन नसक्ने बताउनुभयो । किसानलाई खेतमा सिँचाइ गर्न विद्युत्मा लाग्ने गरेको महसुलमा थप छुट गराउनेतर्फ आफूहरू लागिपरेको पनि बताउनुभयो ।

मेयर साहले पशु बिमा जस्तै बाली विमाको व्यवस्था हुनुपर्ने संघीय सरकारसँग माग गर्नुभएको छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले जनकपुरधामको वडा नम्बर १७ देखि २५ वडासम्म ग्रामिण क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, उपमहानगरपालिकाका कृषि अधिकृत सुकदेव साहले ग्रामिण क्षेत्रका लागि उपमहानगरले एक वडा एक उत्पादनमा जोड दिएको बताउनुभयो । कार्यक्रममा वडा नं. १७ का वडाअध्यक्ष रामवृक्ष यादवले उपमहानगरपालिकामा वडा नं. १७ विसुद्व कृषि प्रधान भएकाले मलखाद्य र सिचाई आफुहरुको पहिलो विकास हुनुपर्ने बताए । सो अवसरमा किसानहरूका साथै जनप्रतिनिधि, स्थानीय नेतालगायत सहभागी भएका थिए ।

असार १५ दही चुरा समेत खाने दिन भएकाले सो अवसरमा उपस्थित सबैले दहीचिउरा र आम खाएर धान दिवस मनाएका छन् ।

आजको दिन हिलो समेत खेलेर खुसीयाली मनाउने भएकाले सो अवसरमा हिलो समेत खेलिएको थियो ।