एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ गते : जनकपुरधाममा पहिलो पटक मिथिला खाना परिकार सहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा आएको छ । अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका मास्टर सेफ सन्तोष साहले संचालनमा ल्याएको उक्त मिथिला थाली होटलमा विशुद्ध मिथिला परिकारका खाना पाइनुका साथै खाना परिकारका सरसमानहरु समेत त्याहाँ उपलब्ध हुने जनाइएको छ ।
बढदो आधुनिकतासँगै विलुप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढी लगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुरयाउने उद्देश्यले मिथिला थाली नामक होटल संचालनमा ल्याइएको संचालक साहले बताए ।
उनले भने, ‘जनकपुरधाम हाम्रो मिथिलाको प्रमुख केन्द्रबिन्दु भएकाले यहाँबाट हामीले सुरुवात गरेका छौं । ५ वर्षभित्र नेपालका काठमाडौ, धरान, नारायणघाट, नेपालगञ्ज लगायतका प्रमुख शहर सहित देशमा एक सय मिथिला थाली शाखाको बिस्तार गर्ने तयारीमा छौं । भात दाल खानेहरुका लागि एउटै गन्तब्यका रुपमा विकास गर्न आफु मातृभुमि जनकपुरधामबाट यस्को थालनी गरेको उनले बताए ।

साथै उनले नेपाल, मधेश, भारत सहितका भात दाल प्रेमी मान्छेहरुको बाक्लो उपस्थिती रहेको दोहा कतार गरी देशविदेशमा पनि मिथिला खाना परिकारको यस्ता होटेल तथा रेष्टुरेन्ट संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए । साहले मिथिला खानाको परिकारलाई देशका पहाड र हिमाल भेग सहित विदेशमा समेत पहिचान बनाउन मिथिला थाली एउटा ब्राण्ड बनाउन खोजेका बताए ।
सो मिथिला थाली होटलमा घर जस्तै परम्परागत रुपमा माटोको चुल्होमा पकाउने, तरकारीको मसला सिलौटामा पिसेर प्रयोग गर्ने, बिरिया, तिलौरी, फुलौरी र आमको आचार बजारबाट नकिनेर गाउँघरमा बनाइएको किनेर प्रयोग गर्ने साहले बताए । मिथिला खाना शुद्ध शाकाहारीका साथै मंसाहारीतर्फ मिथिलाको पहिचान माछाको विशेष परिकार थालीको आर्कषण रहने उनले जनाए ।
शाकाहारीतर्फ मात्र २ सय ५० रुपैयामा दाल, भात, बिरिया सहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने साहले जानकारी दिए । उनले यो दररेट सबैको पहुँच हुने गरी राखिएको बताए । हाम्रो यस अभियानले मिथिला र मधेशको चेलीबेटीहरुलाई रोजगार र घरेलु उत्पादनमा सहभागिता भई आम्दानीको स्रोत हुने बिश्वास उनको छ । उनले यस्ता रेष्टुरेन्टहरुमा एकल महिलाहरुलाई ग्राहयता दिएर जिविको पार्जन र उनीहरुको सम्मान बढाउन अग्रसर हुने बताए ।





