एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । एता सोहि अरोपमा पक्राउ पुर्जी जारी भएको नेकपा एमालेको सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर अझै फरार नै रहेको छ । पार्टी अध्यक्ष केपि शर्मा ओलीको सम्पर्कमै रहेको र वारिस मार्फत आफु बिरामी रहेकाले विदाका लागि प्रदेशसभामा निवेदन पठाएको रायमाझी भने प्रहरीको पहुँचमा पुग्न सकेको छैन ।
खाँणले भने म ‘संलग्न छैन’
पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । अनुसन्धानका लागि म्याद थप्न प्रहरीले काठमाडौं जिल्ला अदालत पु¥याएका खाँणले अदालतबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
अदालतले खाँणसहित अन्य १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । खाँण गत बुधबार आफ्नै निवास मैजुबहालबाट प्रक्राउ परेका थिए ।





