एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ : जगत जननी माता जानकीको जन्मभुमि जनकपुरधाममा जानकी नवमी नजिकिदै गर्दा धार्मिक र अध्यात्मिक अनुष्ठानहरु बाक्लिदै गएको छ । यस अघि भन्दा यस वर्ष जनकपुरधामको विभिन्न मठमन्दिरहरुमा जानकी नवमीको अवसरमा विभिन्न धार्मिक अनुष्ठानहरुको आयोजना गरिएको छ ।
यसै क्रममा जनकपुरधामको रामानन्दचौक भन्दा पश्चिममा रहेको एतिहाँसिक सुन्दरसदन अग्निकुण्ड मन्दिरमा सात दिवसीय श्री राम कथाको आयोजना गरिएको छ । भारतका प्रसिद्व साधु अन्तराष्ट्रिय कथाकार एवं समाज सुधारक आर्चाय मनोज अवस्थीबाट कथा व्यास भइरहेको श्री राम कथामा स्थानियहरुको कथा सुन्न भिड लाग्ने गरेको सुन्दरसदन मन्दिरका महन्त नवल किशोर शरणले बताएका छन् । कथा सुन्न पुग्ने स्थानियहरु कथामा मग्न हुने गरेको छ ।

अगामि वैशाख १६ गते शनिवार मनाइने माता जानकीको जन्मोत्सव जानकी नवमीको अवसरमा जनकपुरधामको विभिन्न मन्दिरमा यस्ता धार्मिक कार्यक्रमहरु आयोजना भइरहेको छ । सो अवसरमा शुक्रवार साँझ जानकी जन्म बधाई, शनिवार सुन्दरसदन मन्दिरबाट भव्य शोभायात्रा निकालेर नगर परिक्रमा र सोहि दिन मन्दिरमा श्री सिताराम विवाह महोत्सवको आयोजना हुने महन्थ शरणले बताए ।






