एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ : मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले नेपाल दूर सञ्चार प्राधिकरणको सेवालाई गरिब जनताको घर दैलोमा शुलभ तरिकाले प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा मधेश प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले अझै पनि धेरै गरिब जनताको पहुँचमा टेलिकम सहितका अन्य सञ्चार प्रदायकहरूको सेवा पुग्न नसकेको बताउँदै सबैको घर दैलोमा गुणस्तरीय सेवा पुर्याउन आवश्यक रहेको बताउनु भयो ।
मन्त्री सिंहले सूचना प्रविधिलाई कृषि तथा पर्यटनसँग जोडेर मुलुक तथा प्रदेशलाई समृद्धिको बाटोमा लाने सम्भावना भएकाले यस तर्फ लाग्न आवश्यक भएको बताउनु भयो । उहाँले नेपाल टेलिकम तथा एन सेल जस्ता सेवा प्रदायकको सेवा अझै पनि मधेश प्रदेशका गाउँ घरमा प्रभावकारी किसिमले पुग्न नसकेको बताउँदै सेवालाई विस्तार र सहज गर्नका लागि मधेश प्रदेश सरकार समन्वय गर्नका लागि तयार रहेको बताउनु भयो ।
मधेश प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउतले विश्वका कतिपय देशहरूले समृद्धिको माध्यम सूचना प्रविधिलाई बनाइरहेको बताउँदै नेपाल अहिले यसमा निक्कै पछाडि रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग सँगै साइवर अपराधका कुराहरू आउने भएकाले सूचना प्रविधिलाई पूर्ण सुरक्षित बनाउने गरि नेपाल दूरसञ्चार प्राधिकरणले कामकाज गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले सूचना प्रविधिको विकासका लागि टावरको निर्माण आवश्यक भएको बताउँदै टावरको विषयमा गलत सूचना प्रवाहित हुने गरेका कारणले विभिन्न अवरोधका कारण विस्तार हुन नसकेको बताउनु भयो । सञ्चारको रेडिएशन मानव स्वास्थ्यका लागि हानिकारक हुने निराधार हल्ला रहेको पनि उहाँको तर्क थियो । कार्यक्रममा सञ्चारकर्मीहरू, स्थानीय निकायका प्रमुखहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीहरू, सेवा प्रदायक संस्थाहरूको सहभागिता रहेको छ ।





