एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ :
वक्ताहरुले मधेश र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखि शिक्षा र स्वास्थ्य क्षेत्रमा अधिक भन्दा अधिक काम गर्न सकिए दुई प्रदेशको मात्र नभई देशकै एचडिआई परिवर्तण भई विकासको वृद्वि हुन सक्ने बताएका छन् ।

जनकपुरधाममा शुक्रवार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र मधेश प्रदेश निति तथा योजना आयोगको सहआयोजनामा भएको मधेश प्रदेश स्तरीय स्वास्थ्य सेवा, उच्च स्वास्थ्य शिक्षा तथा स्वास्थ्य अनुसन्धानका आवश्यक सुधार कार्यक्रमको रुपरेखा विषयक गोष्ठीमा देशै भरिका विभिन्न संघिय तथा प्रादेशिक अस्पताल, प्रतिष्ठानहरुका विज्ञ तथा उपकुलपतीहरुले राज्यले मधेश र कर्णाली दुई प्रदेशको स्वास्थ्य र शिक्षा स्तर उकास्न नसके सम्म देशको समग्र विकास असम्भव रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा उपस्थित विज्ञ र अनुभवी चिकित्सहरुको गहन अन्तरक्रिया र वहसले मधेशको स्वास्थ्य क्षेत्रमा मात्र नभई देशमै स्वास्थ्य र स्वास्थ्य शिक्षाको क्षेत्रमा जनमुखि सुधारको अपेक्षा आफुले गरेको बताएका छन् ।

कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपती प्रा. डा. रामकेवल साहले प्रतिष्ठानले अझै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका लागि प्राविधिक कुराहरुको रोडम्याप बनाउन विज्ञहरुलाई बोलाएर जनकपुरधाममा गन्थनमन्थन गरिएको बताएका छन् । कार्यक्रममा अन्य विज्ञ तथा वरिष्ठ चिकित्सकहरुले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अहिले सम्म राम्रा प्रयास गरेकोमा धन्यवाद दिदै थप प्राविधिक सुझावहरु दिएका छन् ।

एक दिने कार्यक्रममा उपस्थित अन्य अनुभवी चिकित्सकहरुले पनि आ–आफनो अनुभव र सुझाव प्रदान गरेका थिए । कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपती डा मंगल रावल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाका उपकुलपती विश्वराज जोशी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपती प्रा. डा. जय नारायण साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिष्ट्रार डा. बिनोद यादव र रेक्टर डा. अन्कुर प्रसाह साह, प्रशासन प्रमुख सन्तोष ठाकुर सहितको उपस्थिती थियो ।