एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ :
कमला पुल पुनर्निर्माण र हुलाडी सडक निर्माण भएको विलम्बप्रति नागरिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा शुक्रबार हुलाडी सडक संघर्ष समितिले गरेको कमला पुलको पुनर्निर्माण र हुलाकी सडकको अवस्था विषयक अन्तक्र्रियामा सहभागीहरूले अघिल्लो वर्ष भत्किएको निर्माणाधीन हुलाकी पुलको पुनर्निर्माणमा विलम्ब भइरहेको र देशकै पुरानो हुलाकी सडक निर्माणमा सरकारले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सरकारको गलत नियतका कारण मधेशका जनता विकासबाट टाढा हुनुपरेको उनीहरूले बताएका छन् । राज्य सञ्चालन गर्नेहरूको सोच राम्रो नभएकाले पनि सडक निर्माणमा विलम्ब भएको उनीहरूको भनाइ छ । कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विकासका विषयहरू सिधा मानव अधिकारसँग जोडिएका विषय भएको भन्दै विकासको अधिकारबाट जनतालाई वञ्चित गर्न नहुने बताउनुभयो ।

हुलाकी सडकको निर्माणमा विलम्ब हुँदा सर्वसाधारणले धेरै दुःख भोग्नुपरेको भन्दै उनीहरूले सिरहाबाट जनकपुरधामको दूरी २५ किलोमिटर मात्र हुँदा पनि घुमेर महेन्द्र राजमार्ग हुँदै आउनु पर्दा ६० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । केही स्थानमा हुलाकी सडक बने पनि पुलको निर्माण नहुनु, जमिनको मुआब्जाको विवाद कायम रहनुलगायत कारणले पनि समस्या देखिएको उनीहरूले बताएका छन् ।

यता, कमला पुल पुनर्निर्माणमा भएको विलम्बको विषयमा निर्माणसम्बद्ध इन्जिनियर कौशल यादवले भाँचिएको पुलको पिलरको रि–डिजाइनको प्रक्रिया चलिरहेको भन्दै अन्य पिलरहरूलाई कसरी मजबुत पार्नेलगायत विषयमा काम भइरहेको बताउनुभयो । इन्जिनियर यादवले कमलाको क्षतिग्रस्त हुनुको कारणबारे अनुसन्धान भइरहेको पनि बताउनुभयो ।

हुलाकी सडकमा निर्माण गरिएको सिरहा–धनुषा जोड्ने कमला पुल गत वर्ष आएको बाढीमा भत्किएको थियो । निर्माणको अन्तिम समयमा पुल भत्किएपछि सर्वसाधारण आक्रोशित बन्दै आएका छन् । यो पुलको ठेक्का २०६८ साल जेष्ठ ३१ गते शर्मा पप्पु कन्सट्रक्सनले लिएको थियो । कार्यक्रम हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवको पहल र सक्रियतामा भएको हो ।