पुरन रौनियार
जनकपुरधाम, असोज ३१ :
राजनितिमा लडने र जित्नेको मात्र होइन पर्दापछाडिकाको पनि एकदमै महत्व हुन्छ भने कुरा जनकपुरधाम विमानस्थलमा देखिएको छ । प्रत्यक्ष निर्वाचन लड्न छोडेर कांग्रेसबाट मधेशी तर्फ एक नम्वरमा आफनो नाम समानुपातिकमा पठाउन सफल नेता विमलेन्द्र निधि एति वेला धनुषा निर्वाचन क्षेत्र नं. ३ गठबन्धनका उम्मेदवारका लागि लक्ष्मण बुटी सरह भएका छन् ।

सोमवार जनकपुरधाम आएका निधिलाई स्वागत गर्न कांग्रेसका उम्मेदवार मात्र होइन धनुषा ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार लोसपाका शिर्षनेता अनिल कुमार झा, प्रदेशसभा सदस्य लोसपा धनुषा अध्यक्ष र उम्मेदवार परमेश्वर साह, कांग्रेस उम्मेदवार रामसरोज यादव सहित उनीहरु निकटका नेता कार्यक्रताहरु समेत माला लिएर पुगे । सत्तामा रहँदा चर्चामा रहने विमलेन्द्र निधि समानुपातिकमा गएर निश्चिन्त मात्र छैनन धनुषा ३ मा गठबन्धनका उम्मेदवारहरुको भाग्य विधाता जस्तै भएका छन् ।

२०७४ सालको आम निर्वाचनमा तत्कालिन राजपा र हालको लोसपाका नेता राजेन्द्र महतो संग पराजित भएपछि निधी उनका समुह यस क्षेत्रमा लोसपाको दुश्मन जस्तै थियो तर आज तिनै लोसपाका शिर्ष र प्रदेश जिल्लाका नेताहरु माला लगाएर निधीलाई अगाँलो हान्नुले नै सबैथोक निधिलाई दर्शाइरहेको छ । प्रतिनिधीसभाका उम्मेदवार लोसपाका शिर्षनेता अनिल कुमार झा र प्रदेशसभाका उम्मेदवार परमेश्वर साह आफना समर्थक सहित निधिलाई स्वागत गरे ।

जनकपुरधाममा एक तप्का राजनितिमा निधिको शक्ति स्खलन भइसकेको चियाचर्चा गरिरहेका छन भने उनका निकटहरु पहिला भन्दा निधीको मांग र महत्व अव हुने दावी ठोकिरहेका छन् । निधिकै ग्रिन सिग्नल पछि झा प्रतिनिधीसभाको उम्मेदवार बनेर जनकपुरधाम आएको चर्चा छ । मनोनयन भइसकेको छ उम्मेदवारहरु चर्चामा रहन घरदैलो र भेटघाटमा छन एक कांग्रेस नेताले भने, ‘तर मुख्य प्रतिक्षा निधि जीको भइरहेको छ, उहाँ आएपछि मात्र प्लान बन्छ ।’

यहाँ सत्ताधारी बाम लोकतान्त्रिक र जसपा–एमाले गठबन्धन बिच मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । त्यसो त आधा दर्जन स्वतन्त्र उम्मेदवारहरुको पनि चर्चा नचलेको होइन तर ति स्वतन्त्र उम्मेदवारहरुको चर्चा जित्ने भन्दा पनि भोटको हरहिसावका लागि मात्र भइरहेको देखिन्छ । २०७० सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार निधि संग पराजित भएकी एमाले नेतृ जुली महतो यस क्षेत्रको प्रतिनिधिसभा तर्फ जसपा–एमाले गठबन्धनको साँझा उम्मेदवार हुन ।

जुली करिव दुई साता अगाडि देखिनै घरदैलो र भेटघाट सुरु गरिसकेकी छिन् । गत स्थानिय तहको निर्वाचनमा सत्ताधारी गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह पराजित हुँदा भित्र भित्रै विमलेन्द्र निधिले सघाएका कांग्रेसका बागी उम्मेदवार मनोज कुमार साहले जनकपुरधामको प्रमुखमा बाजी मारेपछि निधिसंग जसपा असन्तुष्ट थिए तर जसपा गठबन्धनबाटै वाहिरएको र निधीलाई पराजित गर्ने महतोले क्षेत्र नै छोडेर सर्लाही हिडेपछि आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुको ध्यान निधि तर्फ केन्द्रित छ ।