जनकपुरधाम, जेठ ४:
नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपुर्ण भएपनि मतगणनामा शान्तिपुर्ण धांधली भएको आरोप लगाएका छन ।
मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहेपनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन शान्तिपुर्ण धांधली गरिरहेको आरोप लगाए ।
उनले भने निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको आरोप लगाए ।
महासेठले निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाउंदै भने सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परेपनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय गरेर निर्वाचन अधिकृतहरु कहाँ परिपत्र पठाइएको आरोप समेत लगाए ।
मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, कांग्रेसका लागि रि काउन्टीन गर्नु र अन्य दलले रि काउन्टीन मांग गर्दा नगर्नु लगायतका क्रियाकलापले सत्ता गठबन्धनका प्रमुख दल काँग्रेसलाई जिताउन षडयन्त्र भइरहेको उनले भने ।
महासेठले भने रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको हो ।
उनले सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा भइसकेका उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०÷१० मतको मतान्तरले जबरदस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण हिजो मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न मांग गरे ।