जनकपुरधाम, जेठ १:
नेकपा एमालेका सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई कारवाही गर्न माग गरेका छन् ।आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पुर्वमन्त्री समेत रहेका महासेठले संबैधानिक निकायका एक जिम्मेवार व्यक्तिले मौन अवधिको समयमा तानाबाना बुनेकोले छानबिन गरि कारवाही गर्न माग गरेका हुन् ।
महासेठले अध्यक्ष अन्सारी जनकपुरधाममै बसेर नेकपा एमालेका उम्मेदवार बिरुद्ध षड्यन्त्र गरि विभिन्न जालझेलहरु रचेको आरोप लगाएका छन् । उनले संसदीय समितिसँग छानबिन गरि अन्सारीमाथि कारवाही गर्न माग गरेका छन् ।
उनले भने, ‘बैशाख २९ गतेका दिन म जनकपुरधाममा नरहेको समयमा मिडिया मार्फत अन्सारी बारे समाचार सुनेँ । उनले समेत काठमाण्डौमा पत्रकार सम्मेलन गरेर म र पूर्वमन्त्री जुली महतो माथी लगाएको आरोप बिलकुल निराधार छ ।’
महासेठले धनुषाका प्रहरी अधिकारीहरुको भूमिका पनि शंकास्पद रहेको भन्दै सोको समेत छानबिन गर्नुपर्ने माग गरे । संबैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीति खेल खेल्नु पदिय मर्यादा विपरित रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरका उपमेयर पदका उम्मेदवार रुना झाले अध्यक्ष अन्सारीले निर्वाचन अघि आफुलाई होटेलमा बोलाएको बताइन् ।





