एसपी रिपोर्टर
बारा, माघ २० : बाराका पिडित विपन्न दलित परिवारको सहयोगका लागि लोसपा नेता जितेन्द्र सोनल अगाडि आएका छन् । गत माघ १० गते बाराको आदर्श कोतवाल गाउँपालीका वडा नं. ३ को बतरामा दुईजनाको ज्यान जाने गरि भएको घटनाका पिडितलाई स्थानिय र प्रदेश सरकारले कुनै वास्ता नगरेपछि लोसपा मधेश प्रदेशका नेता सोनल उनीहरुको पिडा बुझन पुगेका छन् ।
विवाहको जन्ती जान तयार रहेको बेहुला बोक्ने रथ अचानक अनियन्त्रीत हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र १४ जना गम्भिर घाइते भएको घटनामा बालकुमारी राम र निलम कुमारी रामको घट्नास्थलमै मृत्यु भएको थियो । स्थानिय लझु महराका छोरा जयराम महराको बिहेमा महरा जन्ती जानु अगाडी सोही रथमा सवार रहेको र घरनजिकैको ब्रह्मबाबाको दर्शन गर्न जाने क्रममा रथको स्टेयरिङ्ग अनियन्त्रीत भई घटना भएको बताइएको छ ।

अति बिपन्न दलित बस्तिमा भएको उक्त घटनाले पुरा गाउँनै शोकमा डुब्यो । आर्थिक अवस्था खराब रहेका घाईतेहरुको उपचारमा समस्या भइरहेपनि स्थानिय र प्रदेश सरकारले कुनै चासो नदेखाएपछि समस्या भएको बताइन्छ । दलितहरुलाई सहयोग गर्न स्थानिय केही नेताहरुले प्रयास गरे, तर त्यहाँका गाउँपालिका अध्यक्षले आर्थिक सहयोग गर्ने नियम नभएको भन्दै सहयोग गरेनन् ।
शोकमा डुवेको परिवार र बस्तीमा केहि भएपनि घाउमा मल्हम लगाउन लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल त्यहाँ पुगेका छन् । सरकारको अनुभुति नगरेका बतराबासिको पिडामा मल्हम लगाउन पुगेका सोनलले लोसपाको तर्फबाट ५० हजार रुपैयाँ सहयोग समेत गरेका छन् । उनले मधेश प्रदेश सरकारसंग थप सहयोगका लागि प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता समेत जनाए ।
घटनामा घाईते भएका १४ मध्ये १ जनाको उपचार काठमाडौंमा तथा अन्यको उपचार विरगञ्ज र कलैयामा भईरहेको छ । घाईतेको उपचारका लागि समेत लोसपाले सहयोग गर्ने प्रतिबद्धता नेता सोनलले गरे । लोसपाका नेता तथा बतराबासी संजय यादवले अति पिछडा समाजका दलितहरुको बस्तिमा भएको घटनाबारे मधेश प्रदेश सरकारलाई समेत जानकारी गराएको तर कुनै चासो नलिएको बताए ।
घटना स्थल रहेको आदर्श कोतवाल गाउँपालीका प्रमुखमा जनता समाजवादी पार्टीका महम्मद मुस्तुफा अध्यक्ष छन् । प्रतिनिधिसभाको क्षेत्र नं.१ मा पर्ने उक्त स्थानबाट नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी सांसद छन भने नेकपा एमालेका त्रिलोकी चौधरी प्रदेशसभा सांसद छन् । यसअघी घटनाको अघिल्लो दिन त्यहाँ पुगेका छिमेकी सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवलले मृतक परिवारलाई २५–२५ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।





