एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ :
बल्ल तल्ल सञ्चालन हुने भनिएको नेपाल रेल्वे पुनः अर्को विवादमा तानिएको छ । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले चोरशैलीमा ५५ जनालाई कर्मचारीका लागि भन्दै गोप्य तालिम दिन थालेपछि यस अघि आवेदन दिएका तथा पुरानो कर्मचारीहरु विरोधमा उत्रेका छन् ।

नेपाल रेल्वे आज चल्छ भोली चल्छ भन्ने हल्ला र प्रचारबाजी सुनेको वर्षौ वर्ष बित्न लागेको छ । भारत संग किनिएको रेल करिव डेढ वर्ष अगाडि जनकपुरधाम आउँदा अव चल्ने विश्वास भयो तर सो रेल इनर्वा स्टेशनमा त्रिपालले छोपेर थन्काइयो । पुष २० गते भारतिय टोली रेल्वे ट्रयाक परिक्षणमा आएको गत शनिवार नेपालले किनेको रेल पुनः परिक्षणका लागि जनकपुरधाम आएपछि रेल्वे चल्ने नयाँ आशा पलाउदै गर्दा रेल्वेमा नयाँ विवाद सृजना भएको छ ।

https://www.facebook.com/100005275830936/videos/pcb.1929142013938308/298553858953516

यस अघि नेपाल रेल्वेले कर्मचारीका लागि दरखास्त आहवान गर्दा आवेदन दिएका तथा केहि काम गरिसकेकाहरुले आफुहरुलाई पाखा लगाउदै माधव नेपालको कोटाबाट महाप्रबन्धक बनेका निरञ्जन झाले एकाएक ५५ जना आफना आसेपासेलाई गोप्य तालिम दिएर भर्ना गर्न लागेको भन्दै पुरानो आवेदकहरु तालिम स्थल घेराउ गर्न पुगेका छन् ।

पुराना कर्मचारीहरुले आफुहरुलाई मन्त्री परिषदको निर्णय घरबाट बोलाएर यस अघिका महाप्रबन्धक गुरु प्रसाद भट्टराइले काम गर्न लगाएको बताउछन् । अनुसार जनकपुरधामको मतस्यविकास तालिम केन्द्रमा तालिम हुदै गर्दा यस अघि स्थागित गरिएको र पैसा पनि फिर्ता नपाएका आवेदन भरेकाहरु तथा यस अघि काम गरेकाहरुले होहल्ला र विरोध जनाएको छ । उनीहरु आफुहरुलाई पाखा लगाएर आफनो पार्टी र नजिकका मान्छेहरुलाई भर्ना गर्न महाप्रबन्धक गोप्त तालिम दिन थालेको आरोप लगाएका छन् ।

आफुहरुलाई बेवास्ता गरिए आफुहरु कुनै पनि किशिमको आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी छ । महाप्रबन्धक झाले भने योग्यता, क्षमता र शैक्षिक प्रमाणपत्रको आधारमा छनौट गरि ५५ जनालाई एक महिने तालिम प्रदान भइरहेको बताए । नेकपा एकिकृत समाजवादीको कोटामा महाप्रबन्धक बनेका सप्तरीका महाप्रन्धक झा र सप्तरीकै विभागीय भौतीक पुर्वाधार तथा यातायात मन्त्री जसपाकी नेतृ रेणु यादवको मिलिभगतमा ५५ जना भर्ती गरि गोप्य तालिम दिइरहेको आरोप असन्तुष्टहरुको छ ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए । रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियूक्त महाप्रबन्धक झाले हटाएका थिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गरेका थिए ।

रेल्वे सञ्चालनका लागि भनी तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुले आफुखुसी दैनिक रुपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकोले सम्पूर्ण व्यक्तिहरुलाई हाजिर नगर्न सूचनामार्फत आग्रह गरिएको थियो ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।