एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २९ :
प्रदेश २ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उपर सबैभन्दा बढी उजुरी परेको अख्तियारले जनाएको छ । सोमबार अख्तियार बर्दिबासले ३१ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पेश गर्दै प्रदेश २ मा परेका उजुरीहरूमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशतर्फ कुल ७५ वटा उजुरी परेका छन् । प्रदेश २ मा कुनै पनि उजुरी नपरेका निकायहरूमा प्रदेश प्रमुखको कार्यालय, मुख्यन्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोग र प्रदेश लेखा नियन्त्रणको कार्यालय रहेका छन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मिश्रले अख्तियार थप सक्रिय भएर प्रदेशमा सुशासन कायम गराउने कार्यमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । बर्दिबास अख्तियार कार्यालयमा आर्थिक वर्ष २०७७÷७८ मा कुल २ हजार ५ सय ९७ वटा उजुरी दर्ता भएका छन् ।

जसमध्ये १ हजार ४ सय १ उजुरीको फछर्यौट भइसकेको छ । यस अवधिमा ९ वटा स्टिङ अपरेशन गरी एक करोड ३९ लाख ९५ हजार रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, १५ जना प्रतिवादीमाथि मुद्दा दायर भएको छ । त्यसैगरी, अघिल्लो वर्षका बाँकी र चालू आर्थिक वर्षमा हालसम्मका कुल १५ सय २१ उजुरीमध्ये १ सय ५६ उजुरी फछर्यौट भइसकेको पनि अख्तियारले जनाएको छ ।

उजुरीमध्ये संघतर्फ ४ सय ९१ र प्रदेशतर्फ ७५ वटा रहेका छन् । कुल उजुरीमध्ये सबैभन्दा बढी अर्थात ९ सय ५२ उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको पनि अख्तियारले जानकारी दिएको छ ।

बर्दिबासस्थित अख्तियारको कार्यालयको कार्यक्षेत्र धनुुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा गरी ९ जिल्ला रहेका छन् । बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको स्थापना २०७३ साल साउन १ गते भएको थियो ।