एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ : जनकपुरधामको आरईसी कलेजमा डिप्लोमा ईन इलेक्ट्रिकल ईन्जिनियरिङ्गमा अध्यन्नरत उनको नागरिकताको ठेकान छैन । बुवा अर्कै श्रीमती र आमा पनि अर्कैसंग गएपछि पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्यन्नरत उनको नागरिकताको के हुने ? कुनै ठेकान छैन । उनीहुन जनकपुरधाम वडा नं. ८ बस्ने १९ वर्षिय राजन कुमार राय (कुर्मी) ।
पढाई लेखाईका लागि पैसाको जोहो गर्न उनको पार्ट टाईम काम हाउस वायरिङ्ग र साउन्ड मिस्त्रीको हो । वाल्यकाल देखि नै विद्युतका काम देखि मेसनरी पार्टपुर्जाको मर्मत र जडानमा माहिर राजन दोस्रो श्रेणीबाट प्रवेशिका परिक्षा उर्तिण गरेपछि इलेक्ट्रिकल ओभरसियर पढने निधो गरे । कक्षा छ मै पढदा हाउस वायरिङ्गमा जान थालेका उनी एलएलसी पास गर्दा सम्म राम्रै विजुली मिस्त्री भइसकेका रहेछन् ।
घर घरमा मर्मत देखि हाउस वायरिङ्गको ठेक्का लिएर पैसा कमाउन थालेका उनले कलेजमा नागरिकताको महत्व बुझे । कलेजले विभिन्न प्रयोजन देखि अन्तिममा सर्टिफिकेट लिने बेलामा नागरिकता अनिवार्य चाहिने भनेपछि उनी अहिले तनावमा छन् किनकी उनको बुवा आमाको ठेकान छैन । महोतरी मनराकट्टीका उनको बुवा शिव राउत कुर्मी र जनकपुरधाम बल्वाटोलकी उनकी आमा फुलोदेवी दुवैजना एक अर्कालाई छोडेर अर्कै विवाह गरिसकेका छन् ।

बुवा आमा दुवै वंशज नेपाली भएपनि बुवाले अर्को विवाह गरेपछि आमा पनि नागरिकता विहिन अवस्थामै भारतको करुणामा अर्का एक नातेदारसंगै दोस्रो विवाह गरेर उतै बस्न थालेकी छन् । बुवाले आमाको न विवाह दर्ता न त नागरिकता नै बनाइदिएका छन् उनले भने, ‘बुवाले अर्को विहे गर्नु भो मैले अंश लिने डरले बुवाले मेरो नागरिकता बनाइदिन चाहेका छैनन ।’ नागरिकता बनाइदिनोस भन्दा बुवाले धेरै सर्त र तर्कहरु शंकाष्पद रुपले राख्ने गरेको उनको जिकिर छ ।
जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रममा साउन्ड सिष्टमको प्राविधिकका रुपमा एसपी खवरलाई भेटिएका राजनले मेरो नागरिकता कसरी बन्छ ? प्रश्न गरेपछि प्रतिप्रश्नका क्रममा उनीबाट एतिका कुराहरु बाहिर आएको छ । बुवा आमा नेपाली वंशज नागरिक नै रहेपनि उनको नागरिकता कसरी बन्छ ? प्रश्न छ ।





