एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ : प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले फलफुलको बिरुवा रोप्दा दोहोरो फाइदा हुने बताएका छन् । उनले फलफुलको बिरुवा रोप्दा किसानलाई आर्थिक र पर्यावरण सुधार दुवैमा फाइदा पुग्ने धारणा राखेका छन् ।
कृषिमन्त्री साहले शनिबार धनुषाको ढल्केवरमा फलफुलका बिरुवा वितरण कार्यक्रममा बोल्दै भन,े ‘फलफुलका बिरुवाबाट मगन्य आम्दनी गर्नुका साथै स्वच्छ वातावरण निर्माणमा समेत सहयोग पुग्ने हुँदा किसानलाई फलफुलका बिरुवा रोप्न सुझाव दिन्छु ।’ मिथिला नगरपालिकाको भू–बनोट अन्नसँगै फलफुल उत्पादनका लागि उपयुक्त रहेको बताउँदै कृषिमन्त्री साहले भने, ‘अहिलेको बिरुवा वितरण कार्यक्रम सन्देश मुलक भएको हो । फलफुलका बिरुवा रोपुन भनेर किसानलाई प्रोत्साहन गर्न थोरै भएपनि बिरुवा वितरण गरिएको छ ।’ किसानले फलफुलको बगानै लगाउन चाहन्छ भने पनि प्रयाप्त बोटबिरुवा उपलब्ध गराउने उनले बताए ।

किसानलाई फलफुल खेतीमा व्यवसायिक बनाउन प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अन्तर्गत कृषि ज्ञान केन्द्र धनुषाले एक हजार फलफुलका बिरुवा वितरण गरेको कृषिमन्त्री साहले जानकारी दिए । कृषि ज्ञान केन्द्र धनुषाले मिथिला नगरपालिकाका किसानलाई फलफुलका बिरुवा वितरण गरेको छ । मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा एक कार्यक्रमबीच किसानलाई आँप र लिचिका बिरुवा वितरण गरिएको छ । जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतोको पहलमा कृषि ज्ञान केन्द्रले मिनपाका २ सय किसानलाई पाँच वटाको दरले विरुवा वितरण गरेका हुन् ।
जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष महतोको अध्यक्षतामा भएको फलफुल बिरुवा वितरण कार्यक्रममा प्रदेश २ को नीति आयोगका सदस्य प्रमिला सिंह, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साह, सरोजकुमार महतोलगायत किसानको उपस्थिति थियो । कृषि ज्ञान केन्द्र धनुषाको सहयोगमा मिथिला नगरपालिकाको विभिन्न वार्ड का दुई सय किसानलाई एक हजार फलफुलका विरुवा वितरण गरिएको छ ।





