एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २७
: जनता समाजवादी पार्टीमा ३२ जना सांसद छन् त्यसमध्ये अध्यक्ष उपेन्द्र यादव नेतृत्व गरेका पूर्व समाजवादीका १६ र अध्यक्ष महन्थ ठाकुर नेतृत्व गरेका पूर्व राजपा नेपालका १६ रहेका छन् । हुन त जसपासंग ३४ सांसद हुन तर २ जना राजपाका रेशम चौधरी र सपाका हरिनारायण रौनियार निलम्वनमा परेका छन् ।

एता सदनमा आज भएको मतदानको क्रममा महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा गएका छन् भने उपेन्द्र यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ ठाकुरको पक्षमा गएका छन् । सदनमा महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र उपेन्द्र यादव पक्षका रुही नाज अनुपस्थित थिए । यसरी जसपा नेपालका १५ जना विपक्षमा मतदान गरे भने १५ जना तटस्थ बसे ।

तर ठाकुर पक्षका एक नेताले भने, ‘रुही नाज हामी संगै हुनुहुन्छ, उहाँलाई समस्या भएर आउन सक्नु भएन तर सम्पर्कमा हुनुहुन्छ ।’ उनले चन्द्रकान्त दबाबमा आएर आज मत विपक्षमा गरेपनि आफुहरुसंगै रहेकाले आफुहरु संग १८ र रेशम चौधरी जोडदा १९ सांसद रहेको दावी गरेका छन् ।

किन गए महेन्द्र र चन्द्रकान्त यादव तर्फ ?

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी (महन्थ ठाकुर पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा तटस्थतर्फ मतदान गरेका थिए । तर, उनले आफ्नो मत सच्याए र पुनः विपक्षमा मतदान गरे । सप्तरीबाट प्रतिनिधिसभाको चुनाव जितेका चन्द्रकान्त चौधरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट छन् । अर्थात् उनी महतोले भनेको मान्ने नेता हुन् । त्यसैले, महतोले भनेकै आधारमा उनले तटस्थमा मतदान गरेका थिए ।

तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका राष्ट्रियसभाका सदस्य मृगेन्द्रसिंह यादवले फोन गरेर ‘यो तपाईंले के गर्नुभएको ? महन्थ ठाकुरहरुको लाइन गडबड छ, तपाईलाई रेणु यादवले जे भन्नुहुन्छ, त्यो गर्नुस’ भनेपछि सांसद चन्द्रकान्त चौधरीले आफ्नो मत सच्याएर पुनः विपक्षमा मतदान गरेको स्रोतले बतायो । सप्तरीका प्रभावशाली नेताहरु मृगेन्द्रसिंह र रेणुको दबाब थेग्न नसकेपछि उनी निर्णय फेरे ।

महन्थ ठाकुर र राजेन्द्र महतोका साथमा चन्द्रकान्तले तटस्थमा मतदान गरेपछि रेणु यादवले त्यहीँबाट मृगेन्द्रकुमार सिंह यादवलाई फोन गरेकी थिइन् । चन्द्रकान्तले तटस्थमा मतदान गर्नुभएको छ, तपाई एकचोटि सम्झाएर यता विपक्षमा मतदान गर्न लगाउनु त, भन्दै मृगेन्द्रसिंह यादवलाई फोन गरेपछि चन्द्रकान्त चौधरीले तीन मिनटमै मत सच्याएर विपक्षतिर मत हाल्न गएका थिए ।

राष्ट्रियसभाका सदस्य मृगेन्द्रसिंह यादव पनि राजेन्द्र महतोका मान्छे हुन् । यादव पूर्व सद्भावना पार्टीका भएका कारणले महतोसँग उनको कुरा मिल्छ । तर, महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको कुरा उनलाई मन परेको छैन । त्यही भएर उनले महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर पनि गरेका थिएनन् । मृगेन्द्रकुमार सिंह यादव राष्ट्रिय सभा सदस्यका साथै पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य पनि हुन् । यस विषयमा जान्नका लागि सांसद चन्द्रकान्त चौधरीसँग पटक– पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

तत्कालिन राजपाका अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका महेन्द्र राय यादव भने जसपा बनेसंगै चर्चा नपाएपछि यादवसंग नजिक भएका हुन ।

अरगरिया र श्रीवास्तवको युर्टन

धनुषा क्षेत्र नं. २ वाट तत्कालिन समाजवादी पार्टीवाट प्रतिनिधीसभा सांसदमा निर्वाचित सांसद उमाशंकर अरगरिया ठाकुर खेमा रोजेका छन् । जसपा परित्याग गरि ओली सरकारमा मन्त्री बन्न थालेको हल्ला देखि सांसद अपहरण काण्डमा मुछिएपछि उनलाई यादवले रुचाउन छाडेपछि उनी ठाकुरलाई रोजेका हुन । अगामि चुनावमा यादवले टिकट समेत नदिने संकेत समेत पाएका अरगरिया ठाकुर पक्ष रोजेका हुन । जसपा एकै रहे अगामि निर्वाचनमा प्रत्येक जिल्लामा आधा आधा क्षेत्र बाडनै पर्ने रणनिति ठाकुर पक्षको छ ।

श्रीवास्तव पनि आफु ठाकुर पक्षमै सुरक्षित रहने सोचका साथ एता लागेको बताइन्छ ।